काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा तनाव नियन्त्रण बाहिर पुगेपछि सेना परिचालन भएको छ ।
आइतबार राति एकजनाको मृत्युपछि स्थिति सामान्य पार्न प्रहरीले लगाएको कर्फ्यूको उल्लंंघन गर्दै स्थानीयले प्रदर्शन गरेपछि सेना परिचालन भएको हो ।
दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले आइतबार राति प्रहरीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु र २१ जना घाइते भएका छन् । प्रहरीको गोली लागेर मात्रै १० जना घाइते छन् ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । तर कर्फ्यु उल्लघन गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
प्रदर्शनका कारण कप्तानगन्ज क्षेत्रको अवस्था अहिले अत्यन्तै तनावग्रस्त बनेको छ । सुनसरीको सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा पनि व्यापक प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले इनरुवा बजार क्षेत्र बन्द गराउनुका साथै पूर्वपश्चिम राजमार्गमा टायर बालेर यातायात अवरुद्ध पारेका छन् ।
प्रहरीका अनुसार टायर बालेर प्रदर्शन गरिरहेका स्थानीयले एउटा फार्मेसी, तीनवटा किराना पसल र एउटा मोटरसाइकल ग्यारेजमा तोडफोड गरेका छन् ।





