सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथा आरोहण गरिसकेका छन् । कामीरिता शेर्पापछि सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा उनी चिनिन्छन् । शेर्पाले सगरमाथासहित चोयू, ल्होत्से र मनास्लु गरी आठ हजार मिटरभन्दा अग्लो हिमालमा ४३ पटक पाइला राखिसकेका छन्।
सन् १९९८ मा पहिलोपटक सगरमाथा आरोहण गर्दा चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर उनले शिखर पुर्याएका थिए ।
हिमाल आरोहण यात्राबारे केही बताइदिनुस् न ?
– मैले १२–१३ वर्षको उमेरदेखि ट्रेकिङमा भरियाको रूपमा काम गर्न थालेको हुँ । त्यसपछि किचेन ब्वाई, कुक हुँदै माउन्टेन गाइडको भूमिकामा काम गर्न थालेँ । सन् १९९८ मा पहिलोपटक चर्चित बेलायती एडभेन्चरर एडवार्ड माइकल बियर ग्रिल्सलाई गाइड गरेर सगरमाथा शिखरमा पुगेको हुँ । त्यो आरोहण निकै कठिन थियो । अहिलेजस्तो त्यतिखेर आरोहणको सुरुमै साउथकोलभन्दा माथि डोरी टाँग्ने (रोप फिक्सिङ) चलन थिएन । हामी दुईपटकको प्रयासमा शिखर पुगेका थियौँ । पहिलोपटक हामी साउथ समिटबाट फर्किएका थियौँ ।
त्यतिबेला कस्तो किसिमको जोखिम सामना गर्नुपरेको थियो ?
– त्यतिबेला विभिन्न आरोहण दलका शेर्पाले थोरैथोरै डोरी टाँग्दै बाटो बनाउनुपर्थ्यो । हाम्रो टोलीको डोरी साउथ समिटमा पुगेपछि सकियो । अनि हिलारी स्टेप पार गर्न गाह्रो भयो । साउथ समिट नजिकै हामी झण्डै सय मिटर जति चिप्लियौँ । अनि आधार शिविर नै फर्किएर एक हप्ता बसेर अर्कोपटकको प्रयासमा शिखर पुगेका थियौँ ।
यस वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर ३१औँ पटक सगरमाथा शिखरमा पुग्नुभयो, कसरी जानुभयो ?
– यसपटक एउटा अमेरिकन कम्पनी र नेपालको ट्रेक नेपाल नामक नेपाली कम्पनीबीचको सहकार्यमा सञ्चालित आरोहण दलमा आबद्ध भएर मैले १८ मे का दिन आरोहण गरेको थिएँ । अनि १९ मे का दिन बिहानै आधारशिविर आइपुगेर पूरा एक दिन आराम गरेर पुन: २० मे को दिन शिखरतर्फ लागेँ । अनि २२ मे का दिन दोस्रोपटक शिखर पुगेको थिएँ । दोस्रोपटक भने मैले कोही विदेशी नलगी एक्लै गएको थिएँ ।
तपाईंको यो २८ वर्ष लामो सगरमाथा आरोहण अवधिमा सगरमाथामा के कस्ता परिवर्तन देख्नुभयो ?
– परिवर्तन त धेरै भएका छन् । पहिले किचेन टेन्ट नै अहिले जस्तो थिएन । हामी आइसमाथि छेउछेउको ढुंगा बटुलेर गाह्रो लगाएर गोठ जस्तै किचेन बनाउँथ्यौँ । अहिले त किचेन, डाइनिङ पूरै कार्पेट ओछ्याएर स्ट्यान्डर्ड खालको आइसक्यो ।
भनेपछि सगरमाथा आरोहण साहसिकभन्दा सुविधायुक्त बढी भएको हो ?
– अहिले एडभेन्चर घटेको भन्दा पनि लक्जरी बढेको भन्नुपर्ला । खासमा कसले लक्जरी सुविधा दिने भन्ने प्रतिस्पर्धाचाहिँ बढेको हो । एउटाले राम्रो बनाएपछि अर्कोले राम्रो बनाउने चलन सुरु भएको छ ।
यो सुविधा विदेशी आरोहीले खोजिरहेका छन् कि कम्पनीले व्यवस्था गरिरहेको छ ?
– दुवैले हो । विदेशीले पनि खोज्छन् र कम्पनीले त्यहीअनुसार व्यवस्था गर्ने क्रम बढेको छ । विदेशीले सुविधा खोजेर त्यही अनुसारको पैसा तिरेपछि कम्पनीले त व्यवस्था गर्नैपर्यो ।
बर्सेनि खुम्बु आइसफलकै हिउँ धेरै नै पग्लियो भन्छन् नि ?
– खुम्बु आइसफलको कुरा गर्ने हो भने धेरै हिउँ पर्दा आइस धेरै देखिने र हिउँ कम पर्दा पग्लिएर घटेको जस्तो देखिने भई नै रहन्छ । पहिलेभन्दा कतिपय ठाउँमा पग्लिन थालेको हो जस्तो पनि लाग्छ, तर मलाई चाहिँ त्यत्रो धेरै हिउँ पग्लिएर ठूलै परिवर्तन भएजस्तो अनुभव भएको छैन ।
कोही अप्ठ्यारोमा परेका आरोहीलाई उद्धार गरेको अनुभव छ ?
– एकपटक एउटा हंगेरियन आरोही थियो । ऊ बिना अक्सिजन सगरमाथा आरोहण गर्ने भनेर गएको थियो । साउथ समिटतिर पुगेपछि त्यसलाई गाह्रो भएर निकै दु:ख दियो । अनि उसलाई हामीले पूरै बाँधेर घिस्याएर क्याम्प–टू सम्म ल्यायौँ । उसको जीवन त बचायौँ, तर हामीलाई निकै गाह्रो भएको थियो ।
यस वर्षको सगरमाथा आरोहणलाई लिएर धेरै नै भीड बढ्यो भन्ने चर्चा भयो । भीड बढेकै हो ?
– भीड त बढेकै हो । अर्कोतिर खुम्बु आइसफलको बाटो खुल्न ढिलो हुँदा झनै बाटोमा भीड धेरै देखियो । तर यसपटकको आरोहणलाई हेर्ने हो भने तुलनात्मक रूपमा खासै दुर्घटना नभएकाले निकै सफल र सुरक्षित आरोहण वर्षका रूपमा लिँदा हुन्छ ।
तपाईं सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने विश्व कीर्तिमानीको प्रतिस्पर्धामा हो कि, पेसाकै रूपमा आरोहण गर्दा प्रतिस्पर्धा गरे जस्तो देखिएको हो ?
– त्यस्तो प्रतिस्पर्धा होइन । मैले यसपटकको ३१औँ आरोहणबाहेकका सबै आरोहण गाइडका रूपमा अन्य आरोहीलाई लिएर मात्र गएको हुँ । यस वर्षको अन्तिम आरोहण भने मेरो कम्पनीको सहयोग र विदेशी साथीहरूको अनुरोधमा पहिलोपटक बिना आरोही एक्लै गरेको हुँ ।


