काठमाडौं – प्रहरीले काठमाडौं, पर्सा र मोरङमा छुट्टाछुट्टै कारबाही गर्दै ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। कारबाहीका क्रममा काठमाडौंबाट दुई जना र मोरङबाट एक जना पक्राउ परेका छन् भने पर्सामा बेवारिसे अवस्थामा राखिएको गाँजा बरामद गरिएको छ।
काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोट बस्दै आएका २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजलका ५४ वर्षीय अम्बक तामाङ रहेका छन्।
उनीहरू सवार बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलबाट गएराति करिब १ बजे गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। दुवैलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ।
यस्तै, पर्साको छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक बगैंचाबाट बेवारिसे अवस्थामा राखिएको १४० किलो गाँजा प्रहरीले बरामद गरेको छ। गएराति करिब ९ बजे फेला परेको गाँजा कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उता, मोरङको कानेपोखरी गाउँपालिका–२ देउलिया खोला नजिकबाट ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ निवासी रणध्वज राई रहेका छन्।
रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ११८ नम्बरको मोटरसाइकलमा सवार उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।





