सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका छन्। प्रदेशसभामा आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफलमा धारणा राख्ने क्रममा उनले राजीनामाको घोषणा गरेका हुन्।
कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। प्रस्तावमाथिको छलफलका क्रममा उनले पदभन्दा जनताको सेवा महत्वपूर्ण रहेको भन्दै आफूलाई कुर्सीप्रति कुनै मोह नभएको बताए।
मुख्यमन्त्री कँडेल २०८० चैतको अन्तिम साता माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि २०८१ साउनदेखि कांग्रेससँगको गठबन्धनमा सरकार सञ्चालन गरेका थिए।
राजीनामा घोषणा गर्दै उनले आफ्नो कार्यकालमा प्रदेशमा विभिन्न सुधारका काम भएको दाबी गरे। साथै, नयाँ बन्ने सरकारको स्थायित्वबारे टिप्पणी गर्दै यसको आयु कति हुन्छ भन्ने अहिले नै भन्न नसकिने बताए।
उनले प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने जानकारी पनि दिएका छन्।







