सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको १० दिनपछि पहिलोपटक नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको बैठक बोलाएका छन्।

एमाले कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक टकराज पछाइले सामाजिक सञ्जाल फेसबुकमार्फत दलको बैठक बसेको जानकारी दिएका छन्।

ADVERTISEMENT

कर्णाली प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ। सोही बैठकमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेकाले त्यसअघि एमाले संसदीय दलको बैठक बोलाइएको हो।

ADVERTISEMENT

सरकार गठनको नयाँ समीकरण, केन्द्रस्तरीय राजनीतिक छलफल तथा प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमबीच अन्तिम समयमा संसदीय दलको बैठक बोलाइएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

बैठकमा एमाले सांसदहरूलाई एकजुट बनाएर सरकार जोगाउने रणनीति, बदलिएको राजनीतिक परिस्थितिअनुसार अपनाउनुपर्ने कदम तथा आगामी राजनीतिक निर्णयबारे छलफल हुने आकलन गरिएको छ।

ADVERTISEMENT

सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि लामो समयसम्म मुख्यमन्त्री कँडेलले संसदीय दलको औपचारिक बैठक नबोलाएको विषय राजनीतिक वृत्तमा चासोको विषय बनेको थियो।