काठमाडौं । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको तथा लाञ्छना लगाएको आरोपमा पक्राउ परेकी बेदिका केसी बिहीबार राति हाजिर जमानीमा रिहा भएकी छन्।
साइबर ब्यूरोका प्रवक्ता एसपी दिलिपकुमार गिरीका अनुसार सरकारी वकिल कार्यालयको सहमतिमा उनलाई शुक्रबार बिहान १० बजे जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा उपस्थित हुने शर्तमा रिहा गरिएको हो।
पुराण वाचिका राधिका दासीको जाहेरीका आधारमा बिहीबार बिहान पक्राउ परेकी केसीविरुद्ध प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेको थियो। तर जिल्ला सरकारी वकिलको कार्यालयले एक दिनको मात्र म्याद स्वीकृत गरेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार जाहेरवाली राधिका दासीले बेदिकालाई थुनामा नराखी सहमतिमार्फत विषय टुंग्याउने इच्छा व्यक्त गरेकी थिइन्। तर फौजदारी प्रकृतिको मुद्दा दर्ता भइसकेपछि मिलापत्रको व्यवस्था नहुने भएकाले सरकारी वकिल कार्यालयले एक दिनको म्याद दिएर हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको हो।
हाजिर जमानीमा छुटे पनि उनीविरुद्धको कानुनी प्रक्रिया भने जारी रहनेछ। अनुसन्धानका क्रममा प्रहरीले बोलाएको समयमा उपस्थित हुनुपर्नेछ। तोकिएको समयमा उपस्थित नभए पुनः पक्राउ गर्न सकिने कानुनी व्यवस्था रहेको छ।








