काठमाडौं । ग्रेटवाल मोटर्सअन्तर्गतको एसयूभी ब्रान्ड हाभलले आफ्नो पहिलो प्योर इलेक्ट्रिक एसयूभी ‘जोलियन म्याक्स इभी’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
आगामी साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा कम्पनीले उक्त मोडलको औपचारिक लन्च गर्ने तयारी गरेको हो ।
हाभलले पहिलोपटक ल्याउन लागेको यो इलेक्ट्रिक एसयूभीमा ग्रेटवाल मोटर्सकै ओरा फाइभमा प्रयोग गरिएको ५८.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध हुने छ । साथै, यसमा १५० किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ इलेक्ट्रिक मोटर जडान गरिएको छ ।
कम्पनीले यसको आधिकारिक रेन्ज सार्वजनिक नगरे पनि अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विवरणका आधारमा जोलियन म्याक्स इभीले करिब ४०० किलोमिटर हाराहारीको ड्राइभिङ रेन्ज प्रदान गर्ने अनुमान गरिएको छ ।
नयाँ जोलियन म्याक्स इभी नेपालमा बिक्री हुँदै आएको पेट्रोल इन्जिनयुक्त हाभल जोलियनभन्दा ठूलो आकारमा आउनेछ । यो मोडल पेट्रोल संस्करणभन्दा १२० एमएम लामो, ३ एमएम चौडा र १० एमएम लामो ह्वीलबेससहित उपलब्ध हुनेछ भने उचाइमा ६ एमएम कम हुनेछ ।
जोलियन म्याक्स इभीले अधिकतम १२० किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । कम्पनीका अनुसार डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २० मिनेट मात्र समय लाग्छ ।
हालसम्म कम्पनीले यसको इन्टेरियर डिजाइन, एड्भान्स्ड सेफ्टी तथा स्मार्ट फिचरहरू र नेपाली बजारका लागि तय गरिने मूल्यबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । साथै, अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विस्तृत स्पेसिफिकेसनका विषयमा पनि कम्पनीले थप विवरण खुलाएको छैन ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने यो मोडल हाभलको पहिलो प्योर इलेक्ट्रिक एसयूभीका रूपमा नेपाली बजारमा प्रवेश गर्न लागेको हो । यसको मूल्य, फिचर तथा उपलब्धताबारे थप जानकारी एक्स्पोको क्रममा सार्वजनिक हुने बताइएको छ ।






