चितवन । वर्षा, बाढी र पहिरोको जोखिमका कारण राति रोकिएको नारायणगढ–मुग्लिन तथा मुग्लिन–काठमाडौं सडकखण्डमा आज बिहानदेखि सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहान ६ बजेदेखि दुवै सडकखण्डमा सवारी सञ्चालन सुरु गरिएको हो। राति ठूलो वर्षा नभएको र सडकको अवस्था सुरक्षित देखिएपछि सावधानीका साथ यातायात खुला गरिएको उनले बताए।
मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलानजिक खसेको सानो पहिरो हटाइसकिएकाले अहिले दुवै सडकखण्डमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहले पनि सडक पूर्ण रूपमा सञ्चालनमा रहेको पुष्टि गरेका छन्।
उच्च जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय चितवनले गएराति १० बजेदेखि सवारी सञ्चालनमा रोक लगाएको थियो। त्यसक्रममा भरतपुर, मुग्लिन, कुरिनटार तथा अन्य स्थानमा रोकिएका सवारीसाधनलाई अहिले प्राथमिकताका आधारमा गन्तव्यतर्फ पठाउने काम भइरहेको छ।
पूर्वी नवलपरासीबाट आउने सवारीसाधनलाई पनि गैंडाकोट, भेँडाबारी र थुम्सी क्षेत्रमा रोकिएको अवस्थाबाट क्रमशः अघि बढाइँदै छ। ट्राफिक प्रहरीले चालकलाई लेन अनुशासन पालना गर्दै जिम्मेवारीपूर्वक सवारी चलाउन आग्रह गरेको छ।












