काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मनसुन सक्रिय भई भारी वर्षाको सम्भावना बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने तथा उपत्यकामा भित्रिने यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै ‘ट्राभल एलर्ट’ जारी गरेको छ।
जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा भारी वर्षाको ‘रेड अलर्ट’ जारी गरेपछि सम्भावित बाढी, पहिरो तथा अन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रशासनले शनिबार यात्रा सावधानीसम्बन्धी सूचना सार्वजनिक गरेको हो।
प्रशासनले काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश नाकाबाट आवतजावत गर्ने सार्वजनिक तथा निजी सवारीका धनी, चालक, सहचालक र यात्रुलाई यात्रा अघि आवश्यक सूचना लिएर मात्र यात्रा गर्न र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
विगतका वर्षमा बाढी र पहिरोका कारण रातिको समयमा ठूलो क्षति भएको स्मरण गराउँदै सम्भावित भारी वर्षा हुने दिनमा विशेषगरी रातिको यात्रा गर्दा थप सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
त्यस्तै, यात्रा अघि सम्बन्धित सडकखण्डको अवस्थाबारे प्रहरी प्रशासनबाट यकिन जानकारी लिन, सडक अवरुद्ध भए सुरक्षित स्थानमा मात्रै बस्न तथा प्रहरीबाट सडक सञ्चालनमा आएको पुष्टि भएपछि मात्र यात्रा अघि बढाउन पनि प्रशासनले आग्रह गरेको छ।






