राजविराज । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा नाइकेसम्बन्धी विवादका कारण पाँच जना कैदीबन्दीले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन्।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार गत दुई दिनदेखि कारागारभित्र दुई समूहबीच नाइकेको विषयलाई लिएर विवाद हुँदै आएको थियो। सोही क्रममा एक पक्षका पाँच जना कैदीबन्दीले मेसमा खाना पकाउन राखिएको मट्टितेल शरीरमा छर्केर आत्मदाहको प्रयास गरेका हुन्।

ADVERTISEMENT

कैदीबन्दीहरूले कारागार नाइकेले बिनाकारण दुर्व्यवहार गर्ने र अनावश्यक दुःख दिने गरेको आरोप लगाउँदै उनलाई हटाउन माग गरेका थिए। एक पक्षले नाइकेलाई हटाउनुपर्ने र अर्को पक्षले नहटाउनुपर्ने अडान लिएपछि विवाद चर्किएको बताइएको छ।

ADVERTISEMENT

आत्मदाहको प्रयासपछि तत्काल चिकित्सकको टोली घटनास्थलमा पुगेर आवश्यक उपचार तथा नियन्त्रण गरेकाले कुनै मानवीय क्षति हुन पाएन।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार विवाद समाधानका लागि सम्बन्धित नाइकेलाई अन्यत्र सारिएको छ। त्यसपछि कारागारभित्रको अवस्था सामान्य बनेको उनले जानकारी दिए।

ADVERTISEMENT

घटनाबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।