काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूले पार्टीका कार्यकर्ता भेट्न नपाएको गुनासो गरेका छन् । कारागार र कैदीबन्दीको अवस्था निरीक्षण गर्न पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीसित उनले तीनवटा गुनासा व्यक्त गरेका छन् ।
सोमबार आयोगकी आयुक्त लिली थापा, आयोगका लुम्बिनी कार्यालय प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बीसीसहितले कारागार निरीक्षण गरेका थिए । उनीहरूले कारागारमा रहेका लामिछानेसँग समेत कुराकानी गरेका थिए ।
कारागारको ४ नम्बर ब्लकमा रविले बसोबास र खानाको व्यवस्था राम्रो भए पनि एक सय दिनसम्म स्वच्छ हावामा हिँडडुल गर्न नपाएको बताएका थिए । उनले अदालतले अनुमति प्रदान गरिसकेको कारागार स्थानान्तरणको विषय रोकिएकामा आयोगको ध्यानाकर्षण गराएका थिए । रविलाई ठाउँसारी नगर्नुको कारणबारे आयोगको गम्भीर ध्यानाकर्षण भएको थापाको भनाइ थियो । काठमाडौं गएपछि कारागार व्यवस्थापन विभागमा पुगेर यसबारे छलफल गर्ने थापाले प्रतिबद्धता जनाइन् ।
रविले कानुनी प्रक्रियाका लागि आफूलाई भेट्न आउने व्यक्ति, शुभेच्छुक र कार्यकर्तासित भेटघाटमा सहजता नभएको बताएका थिए । तर कारागार प्रशासनले भने रास्वपाका नेता कार्यकर्ता सबैलाई रविसँग भेटघाट गर्न दिँदै आएको छ । कारागार आफैंमा संवेदनशील क्षेत्र भएकाले पनि हुल बाँधेर जान रोक लगाइएको छ । तर रास्वपाका कुनै पनि सांसद र केन्द्रीय पदाधिकारी छैनन्, जसले रविलाई नभेटेको होस् । तर पनि रविलाई यतिले चित्त बुझेको छैन ।
रविलाई कारागारले नै मोबाइल फोनको सुविधा दिएको छ । बिहान र बेलुका रविले आफूलाई चाहेको व्यक्तिसँग सहजै कुराकानी गर्न दिइएको छ । रविले काठमाडौंमा रहेका अधिकांश आफ्ना शुभेच्छुक र सहयोगीलाई जसरी भए पनि थुनामुक्त गर्न आग्रहसहितको टेलिफोन गर्ने गरेको पाइएको छ ।





