काठमाडौं । चालू आर्थिक वर्ष ०८२/८३ मा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सवारीसाधन खरिद गर्नेको संख्या उल्लेख्य रूपमा बढेको छ । बैंकहरूको ब्याजदर न्यून विन्दुमा झरेको तथा सहज रूपमा सवारी कर्जा उपलब्ध हुन थालेपछि ऋण लिएर गाडी खरिद गर्नेको संख्या बढेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा (साउनदेखि जेठसम्म) आठ वर्षयताकै उच्च सवारी कर्जा प्रवाह भएको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले १३ अर्ब २२ करोड रुपैयाँ बराबरको सवारी कर्जा लगानी गरेका छन् । यसअघि आर्थिक वर्ष ०७४/७५ मा एकै वर्षमा २१ अर्ब रुपैयाँ बराबरको सवारी कर्जा प्रवाह भएको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल एक खर्ब २८ अर्ब ६९ करोड रुपैयाँ सवारी कर्जा लगानी गरेका थिए । यो रकम चालू आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा बढेर एक खर्ब ४१ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यसले चालू आर्थिक वर्षमा सवारी कर्जा लगानी १०.३ प्रतिशतले वृद्धि भएको देखाउँछ, जुन समग्र बैंकिङ क्षेत्रको औसत कर्जा वृद्धिदरभन्दा उल्लेख्य रूपमा बढी हो । यस अवधिमा समग्र कर्जा प्रवाह भने ५.८ प्रतिशतले मात्र बढेको छ ।
चालू आर्थिक वर्षमा व्यक्तिगत (प्यासेन्जर) तथा व्यावसायिक (कमर्सियल) दुवै प्रयोजनका सवारीसाधन खरिदका लागि कर्जा लगानीमा वृद्धि भएको छ । ११ महिनाको अवधिमा कमर्सियल सवारीका लागि प्रदान गरिने कर्जा ११.३ प्रतिशतले वृद्धि भएको छ । व्यक्तिगत सवारीका लागि प्रदान गरिने कर्जा भने ८.२ प्रतिशतले बढेको छ ।
तथ्यांकअनुसार यस अवधिमा कमर्सियल सवारी साधन खरिदका लागि नौ अर्ब ७० करोड ३४ लाख रुपैयाँ र व्यक्तिगत सवारी साधन खरिदका लागि तीन अर्ब ५१ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जेठ मसान्तसम्म कमर्सियल सवारी क्षेत्रमा कुल ९५ अर्ब ८१ करोड रुपैयाँ र व्यक्तिगत सवारी क्षेत्रमा ४६ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी भएको छ ।
पछिल्लो समय नेपाली अटो बजारमा सवारी साधनको माग र बिक्री बढ्न थालेसँगै सवारी कर्जाको माग पनि उल्लेख्य रूपमा बढेको देखिएको छ । अहिले बैंकहरूको औसत बेसरेट करिब ५ प्रतिशतको हाराहारीमा झरेको छ । केही बैंकहरूले न्यूनतम ०.५ देखि १ प्रतिशतसम्म मात्र प्रिमियम थपेर सवारी कर्जा उपलब्ध गराइरहेका छन् ।
हाल सवारी साधन खरिदका लागि ६ देखि ६.५ प्रतिशतसम्मको ब्याजदरमै बैंकबाट ऋण प्राप्त गर्न सकिने अवस्था छ । यही कारण सस्तो ब्याजदरको अवसरलाई उपयोग गर्दै उपभोक्ताहरूले सवारीसाधन खरिदतर्फ आकर्षण देखाएका छन् । बैंकहरूले पनि ग्राहकलाई लक्षित गर्दै आकर्षक तथा सहुलियतपूर्ण सवारी कर्जा योजना सार्वजनिक गरिरहेका छन् । केही बैंकहरूले ६ प्रतिशतभन्दा कम ब्याजदरमै सवारी कर्जा उपलब्ध गराउने योजनासमेत ल्याएका छन् ।
तीन वर्षदेखि आर्थिक गतिविधिमा सुस्तता कायम रहँदा कृषि, उत्पादनमूलक तथा औद्योगिक क्षेत्रमा कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन । तर अटोमोबाइल र सेयर बजारजस्ता क्षेत्रमा भने कर्जाको माग कायम रहेकाले बैंकहरूले यी क्षेत्रमा कर्जा विस्तारलाई प्राथमिकता दिएका छन् । ग्राहक आकर्षित गर्न बैंकहरूले प्रतिस्पर्धात्मक ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन थालेका हुन् ।
कुन आर्थिक वर्षमा कति सवारी कर्जा प्रवाह ?
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा धेरै २१ अर्ब रुपैयाँ सवारी कर्जा प्रवाह भएको थियो । सो अवधिमा कुल सवारी कर्जा लगानी एक खर्ब रुपैयाँ पुगेको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा नौ अर्ब ९२ करोड रुपैयाँ सवारी कर्जा प्रवाह भएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा यो रकम ६ अर्ब ८९ करोड रुपैयाँले घटेको थियो ।
आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा क्रमशः १३ अर्ब ३९ करोड रुपैयाँ र तीन अर्ब ५० करोड रुपैयाँले सवारी कर्जा लगानी घटेको थियो । आर्थिक वर्ष २०७९/८० मा भने दुई अर्ब चार करोड रुपैयाँले कर्जा प्रवाह बढेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकले सवारी कर्जासम्बन्धी व्यवस्था कडाइ गरेपछि सवारी कर्जा लगानी एकै वर्षमा ३५ अर्ब १० करोड रुपैयाँले घटेको थियो । तर पछिल्ला दुई आर्थिक वर्षमा सवारी कर्जामा पुनः सुधार देखिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब ५९ करोड रुपैयाँले वृद्धि भएको सवारी कर्जा लगानी चालू आर्थिक वर्षको ११ महिनामै १३ अर्ब २२ करोड रुपैयाँले बढेको छ ।






