काठमाडौँ । देशका अधिकांश मुख्य राजमार्गमा आज सवारी आवागमन सहज रूपमा सञ्चालन भइरहेको छ। अविरल वर्षापछि पहिरो र बाढीका कारण अवरुद्ध भएका विभिन्न सडक खण्ड खुलाइएपछि यातायात सेवा सामान्य बन्दै गएको हो।

अस्ति बेलुकादेखि पहिरोका कारण अवरुद्ध नागढुङ्गा–मुग्लिन–नारायणगढ सडक हिजो बिहानदेखि सञ्चालनमा आएको र त्यसयता निर्बाध रूपमा सवारीसाधन चलिरहेका छन्।

ADVERTISEMENT

बाढीको जोखिमका कारण गएराति काभ्रे खण्डमा रोक लगाइएको बीपी राजमार्गमा पनि अहिले सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। मनसुन अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने गरिएको छ।

मकवानपुरको भीमफेदी र हेटौँडा–ठिङ्गन खण्डमा पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ पनि आज बिहान ५ बजेदेखि सञ्चालनमा आएको छ। यसअघि मकवानपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले सुरक्षा कारण देखाउँदै रातिको समयमा सवारी आवागमनमा रोक लगाएका थिए।

ADVERTISEMENT

यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी खण्डस्थित अरनिको राजमार्गमा पहिरो पन्छाएपछि एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।