काठमाडौं– अभिनेत्री काजल कर्णले फिल्म ‘चिरञ्जीवी भवः’को छायांकन सेटमा आफूमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै चलचित्र कलाकार संघमा औपचारिक उजुरी दिएकी छन्।
मंगलबार इमेलमार्फत दर्ता गरिएको उजुरीमा कर्णले आफूलाई सेटमा दुर्व्यवहार गरिएको दाबी गर्दै घटनामा संलग्न व्यक्ति र प्रोडक्सन टिममाथि स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्न माग गरेकी छन्। साथै, भविष्यमा कलाकारमाथि यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता सम्बन्धित पक्षबाट गराउनुपर्ने माग पनि राखेकी छन्।
चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले उजुरी प्राप्त भएको पुष्टि गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी दिए। उनका अनुसार विषय गम्भीर बन्दै गएकाले आवश्यक परे केही दिन छायांकन स्थगित गरेर पनि आरोपित पक्ष र कर्णबीच छलफल गराइनेछ।
यता, मंगलबार प्रतिनिधिसभा बैठकमा पनि यो विषय उठेको छ। नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
यद्यपि, फिल्मका निर्देशक दीपक आचार्य (काकु)ले भने अभिनेत्री कर्णले लगाएको आरोप निराधार रहेको दाबी गर्दै घटनामा कुनै सत्यता नभएको बताएका छन्।





