काठमाडौँ । कांग्रेस सचेतक निश्कल राईले जनताले रास्वपालाई १८२ सिट दिएको जनताको मुख थुन्न नदिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा राईले झन्डै दुई तिहाइको संख्या पाएको प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्काका लागि नभएको उनको भनाइ छ ।

राईले बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स नदिने बताए । ‘संविधानको धारा १३७ ले न्यायिक समीक्षाको व्यवस्था गर्छ। संविधानको धारा १ ले नै भन्छ, यो संविधान सर्वोच्च कानुन हो। बहुमत संविधानभन्दा माथि छैन। बहुमतले जनताको प्रतिनिधित्व गर्छ, जनताको अधिकार कुल्च्ने अधिकार दिँदैन। सरकारले जति पटक १८२ सिटको प्रचण्ड बहुमत दोहोर्याए पनि, त्यो संख्याले प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का दिएको छैन,’ उनले भने ।

ADVERTISEMENT

राईले सरकार प्रश्न उठाउनेहरुमाथि प्रतिशोध साँध्न अघि बढेको टिप्पणी गरे । उनले जेनजी आन्दोलनको बलमा बहुमत पाएको सरकार अहिले जेनजीकै अभिव्यक्ति बन्देज गर्न खोजेको बताए । ‘जुन जेनजीले अभिव्यक्ति स्वतन्त्रता माग्दै सडक ओगटेको थियो, आज त्यही जेनजी आफ्नै रोजेको सरकारको लाठी खाइरहेको छ। जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो, आज त्यही युवालाई प्रश्न बर्जित भोग्नुपरेको छ,’ उनले भने ।

राईले आज प्रश्न बर्जित हुन थालेको, लोकतन्त्रलाई संस्थागत हुन नदिने एक पछि अर्को कार्य भइरहेको र सरकार निरंकुश बन्दै गएको टिप्पणी गरे । गणेश नेपालीको घटनापछि सरकारमाथि प्रश्न उठाउँदा सरकार प्रश्न उठाउनेमाथि प्रतिशोध साँध्न उद्धत भएको उनको भनाइ थियो । यसैको प्रतिक्रियामा कांग्रेस सभापति र सञ्चारमाध्यमका अगाडि गाडी लगेर पार्क गरेको उनले बताए ।

ADVERTISEMENT

‘सुकुम्बासीको होल्डिङ सेन्टरमा भएको दमन होस्, गणेश नेपालीको मृत्युपछिको प्रश्नमाथिको बदला होस्, वा सडकमा गाडी छोडेर सिर्जना गरिएको यो त्रास होस्, तीनवटै घटनाको धागो एउटै ठाउँमा गएर जोडिन्छ, प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति,’ उनले भने ।

उनले यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न बर्जित छ भन्ने रहेको बताए । ‘सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ,’ राईले भने ।