काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले नेपालको सुरक्षा, शान्ति तथा मित्रराष्ट्रसँगको सम्बन्धमा प्रतिकूल असर पर्ने विषयवस्तु भएका कुनै पनि फिल्मलाई प्रदर्शन अनुमति नदिइने स्पष्ट पारेको छ।

मन्त्रालयले चलचित्र विकास बोर्डलाई परिपत्र जारी गर्दै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८(३) को पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो।

ADVERTISEMENT

उक्त दफाअनुसार नेपालको सुरक्षा, शान्ति र व्यवस्था तथा मित्रराष्ट्रसँगको सुमधुर सम्बन्धमा असर पर्ने विषयवस्तु समेटिएको फिल्मलाई चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिन नसक्ने कानुनी व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।

ADVERTISEMENT

परिपत्रमा नेपालभित्र सार्वजनिक प्रदर्शन हुने सबै फिल्मले चलचित्र जाँच समितिबाट ऐन र नियमावलीअनुसार जाँचपास गराएर मात्र प्रदर्शन गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, ऐनविपरीतका विषयवस्तु समावेश भएका फिल्म जाँचपासका लागि आएमा प्रदर्शन अनुमति नदिइने स्पष्ट पारिएको छ।

मन्त्रालयले निर्माता, वितरक तथा अन्य सरोकारवालालाई पनि उक्त कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

ADVERTISEMENT

भारतीय फिल्म ‘अल्फा’को प्रदर्शन अनुमति सम्बन्धी विवादपछि मन्त्रालयले चलचित्र विकास बोर्डलाई यस्तो परिपत्र जारी गरेको हो। जाँच समितिमा विवाद उत्पन्न भएपछि अन्तिम समयमा सम्बन्धित मन्त्रीको निर्देशनमा उक्त फिल्मलाई प्रदर्शन अनुमति दिइएको थियो।