काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर डाउन हुँदा लाइसेन्ससम्बन्धी सम्पूर्ण सेवा ठप्प भएको छ । विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एण्ड भेहिकल रजिस्ट्रेसन सिस्टम’ (ईडीएलभीआरएस) प्रणालीमा समस्या आएपछि देशभरका यातायात कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको हो ।
यातायात कार्यालयहरुले सूचना जारी गर्दै अनिश्चितकालका लागि सेवा स्थगित गरेको जानकारी दिएका छन् । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) का अधिकांश सेवाहरू प्रभावित भएका छन्।
ललितपुरस्थित यातायात व्यवस्था कार्यालय एकान्तकुनाले जारी गरेको सूचनामा लाइसेन्स वितरण, दुई पाङ्ग्रे सवारीसाधनको ब्लुबुक नवीकरणबाहेक सम्पूर्ण सेवा स्थगित गरिएको उल्लेख छ ।
यीबाहेकका अन्य सबै सेवाहरू (जस्तै, नयाँ आवेदन, वर्ग थप, लाइसेन्स नवीकरण आदि) अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। सर्भरमा देखिएको समस्याका कारण सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ।
प्रणालीमा सुधार आउनासाथ सेवाहरू पुनः सुचारु गरिने र सोको जानकारी सार्वजनिक गरिने कार्यालयले जनाएको छ। थप जानकारीका लागि सेवाग्राहीले कार्यालयको आधिकारिक वेबसाइट वा टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्नेछन्।





