वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएका मुगुको सोरु गाउँपालिका–१ जवलधाराका २५ वर्षीय गणेश नेपालीको परिवारलाई राहत, श्रीमतीलाई रोजगारी र छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच भएको वार्तापछि ९ बुँदे सहमति भएको हो।
सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। समितिले गठन भएको सात दिनभित्र नेपाल सरकारसमक्ष प्रतिवेदन पेश गर्नेछ।
यस्तै, गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अघि बढाउने सहमति भएको छ।
घटना भएको दिन अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई छानबिन आयोगको प्रतिवेदन तथा सिफारिसका आधारमा कारबाही गर्ने गरी हाललाई निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने भएको छ।
काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गरी मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्नेछ। यसका लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक समन्वय गर्ने सहमति भएको छ।
त्यस्तै, मृतकको आश्रित परिवारलाई राहतस्वरूप उपयुक्त रकम उपलब्ध गराइने, अन्तिम संस्कार तथा काठमाडौंमा गरिने काजक्रियाको सम्पूर्ण व्यवस्थापन महानगरपालिकाले गर्ने तथा मृतकका एकाघरका परिवारजनको काठमाडौं आउजाउ, बसोबास र काजक्रिया अवधिभरको सम्पूर्ण खर्च पनि महानगरपालिकाले व्यहोर्ने सहमति भएको छ।
पीडित परिवारले शव बुझ्ने, पोस्टमार्टमसहितका कानुनी प्रक्रियामा आवश्यक सहयोग गर्ने र अन्तिम संस्कार सम्पन्न गर्ने जिम्मेवारी लिने सहमति भएको छ। साथै मृतकका एकाघरका परिवारको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइने उल्लेख गरिएको छ।
सहमतिपत्रमा नेपाल सरकार तथा स्थानीय तहका तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्। पीडित पक्षका तर्फबाट मृतककी श्रीमती एकमाया नेपालीसहित परिवारका सदस्य र वार्ता समितिका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
गएकाे बिहीवार आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा वीर अस्पतालमा शुक्रवार बिहान निधन भएको थियो ।
गणेशको मृत्युबारे उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वको ५ सदस्यीय समितिले छानबिन गरिरहेको छ ।








