सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित पाथीभरा मन्दिरसँग जोडिएकी पाथीभरा माताले शुक्रबार फेसबुक लाइभमार्फत विष सेवन गरेकी छन्। विष सेवन गरेलगत्तै उनलाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएको छ।

प्रदेश अस्पतालका उपसचिव तथा सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार उनको आईसीयूमा उपचार भइरहेको छ र हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ।

ADVERTISEMENT

उनले विषको मात्रा र प्रकृतिअनुसार बिरामीको अवस्था फरक–फरक हुने बताउँदै उपचार जारी रहेको जानकारी दिइन्। घटनापछि माताका आफन्तले समाजसेवी बेदिका केसी र सञ्चारकर्मी प्रकाश सुवेदीलाई सुर्खेत आएर आफूहरूले लगाएका आरोपको प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन्।

ADVERTISEMENT

माताकी श्रीमतीले प्रमाणविना चरित्र हत्या गर्ने र झुटा आरोप लगाउनेमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेकी छन्। साथै, पाथीभरा माताको स्वास्थ्यमा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी बेदिका केसीले लिनुपर्ने उनीहरूको भनाइ छ।

चार दिनअघि प्रसारण भएको ‘प्रकाश सुवेदी शो’ कार्यक्रममा बेदिका केसीले पाथीभरा माता (समीर थापा) सम्बन्धमा विभिन्न आरोप लगाएकी थिइन्। उनले समीर थापा पुरुष रहेको, विवाह गरिसकेको, आफूलाई माता भनेर प्रस्तुत गरेको, सामाजिक सञ्जालमा स्विमसुट लगाएको, मदिरा सेवन गरेको देखिने भिडियो सार्वजनिक भएको तथा धर्मको नाममा ढोंग गरेको आरोप लगाएकी थिइन्। साथै, आफूविरुद्ध अपशब्द प्रयोग गरेर भिडियो बनाएको दाबी पनि गरेकी थिइन्।

उक्त अन्तर्वार्तापछि पाथीभरा माताले सामाजिक सञ्जालमार्फत लगातार भिडियो सार्वजनिक गर्दै आफ्नो धारणा राख्दै आएकी थिइन्। शुक्रबार भने उनले फेसबुक लाइभकै क्रममा विष सेवन गरेकी हुन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।