काठमाडौं — फिफा विश्वकप–२०२६ अन्तर्गत आज हुने क्वार्टरफाइनलमा युरोपका दुई बलिया टोली स्पेन र बेल्जियम आमनेसामने हुँदैछन्। अमेरिकाको क्यालिफोर्नियास्थित सोफी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।
प्रतियोगिताभर अपराजित रहेको स्पेन उत्कृष्ट लय कायम राख्दै सेमिफाइनल पुग्ने लक्ष्यमा मैदान उत्रनेछ। स्पेन हालसम्म प्रतियोगितामा एक गोल पनि नखाई क्वार्टरफाइनल पुगेको टोली हो। सन् २०२४ को युरोपियन च्याम्पियन स्पेनले बलियो रक्षापंक्तिका कारण विपक्षीलाई प्रभावकारी रूपमा रोक्दै आएको छ।
यता बेल्जियम पनि उत्कृष्ट लयमा छ। अन्तिम–१६ मा आयोजक अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनल पुगेको बेल्जियम लगातार १८ खेलदेखि अपराजित छ। स्पेनलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउने लक्ष्यसहित बेल्जियम मैदानमा उत्रनेछ।
आजको खेलको विजेताले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यसअघि शुक्रबार बिहान भएको पहिलो क्वार्टरफाइनलमा साविक उपविजेता फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ।












