काठमाडौं। अभिनेता पल शाह अभिनीत फिल्म ‘आबाट आमा २’ आगामी असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
निर्माण पक्षले फिल्मको क्रोएसियाको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिँदै प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा पल शाहसँगै बिपना थापा, आकाश श्रेष्ठ र मलिका महत मुख्य भूमिकामा छन्। फिल्मको लेखन तथा निर्देशन चन्द्र पन्तले गरेका छन्।
दशैंको लामो बिदालाई लक्षित गर्दै फूलपातीको अघिल्लो दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्मले बक्स अफिसमा कडा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। सोही समयमा छ माया छपक्कै २, १२ गाउँ २ र बाटुलो जुन पनि प्रदर्शनमा आउने चर्चा छ।
‘आबाट आमा २’ सफल फिल्म आबाट आमा को सिक्वेल हो। पहिलो भागले उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको थियो, जसले सिक्वेलप्रति पनि दर्शकमाझ उत्सुकता बढाएको छ।






