काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्को उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले विपद् व्यवस्थापनको पूर्वतयारीबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

‘माननीय सदस्यहरूद्वारा उठाइएका यी गम्भीर विषयमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतीलाई नियन्त्रण एवं न्यूनीकरण गर्न विपद् व्यवस्थापनका पूर्वतयारीका सम्बन्धमा भएगरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु,’ उनले भने ।

ADVERTISEMENT

सोमबार प्रतिनिधिसभामा सांसदहरूले कर्णालीमा हालै भएको सवारी दुर्घटनाको विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । सरकारले समयमै उद्धार नगरेको भनेर आलोचना गरेका थिए ।

ADVERTISEMENT

यो विषयमा सत्तारुढ दलबाट समेत गृहमन्त्रीले जवाफ दिनुपर्ने माग उठेको थियो । रास्वपा सांसद रमेश प्रसाईं भनेका थिए, ‘हालसालै जुन दुर्घटना कर्णाली राजमार्गम भयो । सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन ? के मान्छे भिरमा अड्किएर हारगुहार गरेको र विपक्षी मित्रहरूले भने जस्तै लापरबाही भएको साँचो हो ?’

उनले भनेका थिए, ‘भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटना दोहोरिन नदिन सरकारसँग दीर्घकालीन योजनाहरू के(के छन् ? गृहमन्त्रीले यो रोस्ट्रममा उभिएर उत्तर दिनैपर्छ ।’

ADVERTISEMENT

त्यसअघि राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णाली सरकारबाट हेपिएको भन्दै आलोचना गरेका थिए । उनले कर्णाली नदीमा नागरिक डुबिरहँदा सरकारका मन्त्री भने हवाई यात्रामा मस्त रहेको बताएका थिए । प्रतिपक्ष र सत्तापक्षबाट ध्यानाकर्षण भएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देश गरेका हुन् । सभामुख अर्यालले सय दिन कटेपछि सरकारलाई जवाफ दिन रुलिङ गरेका हुन् ।