इलाम । पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्द्धनात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालित उक्त अभियानअन्तर्गत पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीहरूले कोशी प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय गन्तव्यको अवलोकन गर्दै स्थानीय सरकार, पर्यटन व्यवसायी, होमस्टे सञ्चालक र समुदायसँग पर्यटन विकासका सम्भावना, चुनौती तथा आगामी रणनीतिबारे छलफल गरेका छन्।

भ्रमणका क्रममा टोलीले इलामको श्री अन्तुमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएको थियो। कार्यक्रममा महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष जया बरालले कोशी प्रदेश प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा साहसिक पर्यटनका दृष्टिले नेपालकै अत्यन्तै समृद्ध प्रदेश भएको बताउँदै यसको पर्यटन सम्भावनालाई योजनाबद्ध रूपमा विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

ADVERTISEMENT

अन्तु पर्यटन व्यवसायी संघकी कोषाध्यक्ष कञ्चना बरालले श्री अन्तु नेपालको पहिलो सूर्योदय अवलोकन गर्न सकिने प्रमुख गन्तव्यका रूपमा परिचित रहेको बताउँदै यस क्षेत्र प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदाले सम्पन्न रहेको उल्लेख गरिन्।

ADVERTISEMENT

ADVERTISEMENT

अन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले ग्रामीण पर्यटनको विकासमा होमस्टे महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै पूर्वी नेपालका गाउँहरूमा पर्यटन विस्तारका लागि होमस्टे सञ्जाललाई थप सुदृढ बनाउनुपर्ने बताए।

सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन बम्जनले स्थानीय सरकारले पर्यटनलाई विकासको प्रमुख आधार मानेर सडक, पदमार्ग, पर्यटकीय पूर्वाधार निर्माण, गन्तव्य संरक्षण तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

प्रवर्द्धनात्मक भ्रमणका क्रममा टोलीले काठमाडौंबाट यात्रा सुरु गरी कोशी ब्यारेज, झापा, इलाम, श्री अन्तु, बराहक्षेत्रलगायत कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन गरेको थियो। भ्रमणका क्रममा स्थानीय सरकार, पर्यटन व्यवसायी, समुदाय तथा सरोकारवालासँग पर्यटनका सम्भावना, चुनौती, गन्तव्य प्रवर्द्धन, पूर्वाधार विकास र सीमा पर्यटनका अवसरबारे समेत विस्तृत छलफल गरिएको थियो।