काठमाडौँ । वर्तमान सरकार गठनको १०० दिन पुगेको छ । यस अवधिमा परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरुबाट प्रदान गरिने सेवालाई थप सरल, सहज, प्रभावकारी, प्रविधि एवम् सेवाग्राही मैत्री बनाउने कार्यमा प्रभावकारी कदमहरू चालिएको र उपलब्धिहरू पनि हासिल भएका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीलाई कन्सुलरलगायत सेवा प्रदान गर्न मोफा मित्र नामक एप तयार गरी सञ्चालनमा ल्याएको छ । यसैगरी, कन्सुलर सेवा विभागको कन्सुलर तथा कानुनी परामर्श सेवाको अनलाइन सेवा हालसम्म सबै जिल्ला तथा ५३७ स्थानीय तहसम्म विस्तार गरिएको छ ।

पोर्चुगलमा रहेका नेपालीमध्ये करिब दुई हजारजनाको सक्कल प्रहरी चारित्रिक प्रमाणपत्रमा ‘कन्सुलर’ प्रमाणीकरणको छाप कीर्ते पाइएकाले उनीहरूलाई त्यहाँको अस्थायी आवासीय अनुमतिपत्र दिन समस्या भएको थियो ।

ADVERTISEMENT

दक्षिण पूर्वी एसियामा अनलाइन स्क्यामिङमा ठगीमा परेका ८१९ जनालाई यस अवधिमा परराष्ट्र मन्त्रालय र नेपाली नियोगहरूको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

नेपालको निरन्तर कूटनीतिक पहलमा युएई सरकारले थुनामा रहेका १२८ जना नेपाली नागरिकलाई गत वैशाख २ गते तथा साउदी अरब सरकारले थुनामा रहेका ३३ जना नेपाली नागरिकलाई यही असार १६ मा क्षमादान दिएको थियो ।

ADVERTISEMENT

नेपाली चियाको भारत निर्यात सहजताका लागि भारतको विदेश मन्त्रालय र अन्य निकायसँग परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासले संवादमार्फत समाधान गरेको छ ।
राहदानीको नयाँ प्रणाली यही असार २९ बाट सुरु हुने र सोको तयारी मन्त्रालय र राहदानी विभागबाट करिब पूरा भएको छ । राहदानी सेवालाई थप सरल र सहज बनाउन नेपाली नियोग नभएका मुलुकमा राहदानी वितरण गर्न घुम्ती सेवा सञ्चालन गरिएको छ ।

राहदानी सेवा सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयहरूमा पु¥याउन हुलाक विभागसँग सहकार्य गर्ने विषयमा असार १९ गते एक सम्झौता सम्पन्न र सोही दिनबाट उक्त सम्झौता लागू भएको छ । जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि आवश्यक प्रक्रिया सुरु गरिएको छ ।

नेपाल सरकारको समृद्धि हासिल गर्ने नीतिमा योगदान पु¥याउने उद्देश्यले विभिन्न देशसँगको सम्बन्धलाई सुदृढ बनाउँदै आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउन देशगत रणनीतिहरूलाई प्राथमिकतामा राखी काम भइरहेको मन्त्रालयले जनाएको छ । यसबाट द्विपक्षीय लाभका क्षेत्रहरू पहिचान गरी काम गरिने आधार तय गरिँदैछ ।

आर्थिक समृद्धिसम्बन्धी सरकारको नीतिअनुरूप परराष्ट्र मन्त्रालयले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको छ । यस अवधिमा विकास कूटनीतिमार्फत तीव्रतर आर्थिक तथा सामाजिक विकास हासिल गर्ने दिशामा नीतिगत तथा कार्यक्रमगत व्यवस्थाहरू अवलम्बन गरिएको छ ।

निर्यात व्यापार, वैदेशिक सहायता, लगानी तथा पर्यटन प्रवर्धन, सूचना प्रविधि विकासलगायत क्षेत्रहरूमा देशको दीर्घकालीन राष्ट्रिय हितअनुकूल परिचालन गरिएको छ । यसका साथै, विदेशस्थित नेपाली नियोगहरूबाट आर्थिक कूटनीतिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । देशगत रणनीतिमा आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखिएको छ ।
नेपाल सरकारले अतिकम विकसित मुलुकबाट हुने निर्धारित स्तरोन्नतिलाई तत्कालका लागि स्थगन गर्ने औपचारिक प्रक्रिया अघि बढाएको छ ।

हालसम्म १३ मुलुकसँग श्रम सम्झौताहरू सम्पन्न पनि भएका छन् । ठूलो सङ्ख्यामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र विभिन्न काम विशेषले देशबाहिर रहेका नेपाली नागरिकको सुरक्षा, हकहित तथा अधिकारका विषयहरू हाम्रो प्राथमिकतामा छन् ।

नेपालमा पहिलो पटक राजदूत नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । विभिन्न मुलुकका लागि नेपाली राजदूत पदका लागि करिब तीन हजार आवेदन प्राप्त भएको छ । यससम्बन्धी आवश्यक कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।