काठमाडौँ । कुनै बेला जस्ताका टहराले घेरिएको तथा फोहर र दुर्गन्धले भरिने गरेको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । काठमाडौँ महानगरपालिका–२६ विष्णुमती खोला किनारामा अवस्थित १६१ रोपनीमा रहेको बसपार्क विगतमा जस्तो फोहर र दुर्गन्धित छैन ।
काठमाडौँ महानगरपालिकाको पहल र जापान अन्तर्र्राष्ट्रिय सहयोग निकाय (जाइका)को प्राविधिक सहयोगमा निर्माण भएको बसपार्क अहिले व्यवस्थित देखिन्छ । टहरा र फोहर हटेसँगै यहाँको यातायात सञ्चालन पनि व्यवस्थित बन्दैछ । मुलुकमा पछिल्ला वर्षहरुमा बढ्दै गएको सवारीसाधनको चापको भार बसपार्कमा पनि परेको त छ, तर चुस्त ट्राफिक व्यवस्थापनका कारण भद्रगोल छैन ।
फोहरको डुङ्गुर थुपार्ने कुनाकाप्चा पनि अहिले सफा छन् । त्यस्तै लामो दूरीका लागि टिकट काट्न जाने सर्वसाधारण यात्रुसँग मोलमोलाई गर्ने विचौलियाहरु पनि अहिले कतै देखिन्नन् । न त पहिलेजस्तो धुलाम्मे फुटपाथमै खाना बनाएर बेच्ने ठेलाहरु नै बसपार्कभित्र भेटिन्छन् । यहाँ बिहान बेलुकै सफा गर्ने गरिएको छ भने ठूला बस तथा माइक्रोहरु पनि व्यवस्थित रुपमा मिलाएर पार्किङ गरिराखेको देखिन्छ ।
काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त बसपार्क विसं २०५६ मा तत्कालीन नगरप्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच सार्वजनिक–निजी साझेदारीअन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।
काठमाडौँबाट देशका विभिन्न जिल्लामा जाने लामो दूरीका बसलाई एउटै स्थानबाट व्यवस्थित रूपमा सञ्चालन गर्ने मुख्य उद्देश्यका साथ स्थापना गरिएको बसपार्कको व्यवस्थापन विसं २०७१ देखि भने इन्जिनियर दीपक कुँवरले गर्दै आएका छन् । सुरुको समयमा ४५० सार्वजनिक सवारीसाधनमात्र पार्किङ गर्न सकिने क्षमतामा रहेको नयाँ बसपार्कमा विसं २०७२ सालमा स्तरोन्नति गरी ८०० सवारीसाधन पार्किङ गर्न मिल्ने बनाइएको छ ।
इन्जिनियर कुँवरकै नेतृत्वमा बसपार्कभित्र अव्यवस्थित रुपमा रहेका टहरा हटाएर व्यवस्थित बनाइएको छ । अहिले नयाँबसपार्कभित्र एक नमूना बसपार्कमा हुनुपर्ने पूर्वाधार निर्माण गरिएको छ । बसपार्कभित्र व्यवस्थित टिकट काउण्टर, सवारीसाधनलाई आवश्यक पर्ने पेट्रोल पम्प निर्माण, सुविधासम्पन्न ल्होत्से मल, खाजा घर, अपांगमैत्री शौचालय निर्माण गरिएको छ ।
बसपार्कभित्र हरियाली वातावरण निर्माणका लागि विभिन्न फलफूलका बिरुवाहरु रोपिएको छ भने सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको सहयोगमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । बसपार्क र त्यस बाहिरको सुरक्षाका लागि नयाँबसपार्कभित्र प्रहरी प्रभाग र ट्राफिक प्रहरी वृत्त सञ्चालनमा छ ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर कुँवर आफूले व्यवस्थापन गरेको एक दशकभित्र नयाँबसपार्कभित्र ठूलो आरोहअवरोह झेल्नुपरेको बताउँछन् । ठूलो क्षेत्रफलमा फैलिएको नयाँ बसपार्क सफाइका लागि मात्र दैनिक ५० सरसफाइकर्मी खटिएका छन् । यस्तै, बसपार्कभित्रको व्यवस्थापन र सञ्चालनका क्रममा सयौँले प्रत्यक्ष रुपमा रोजगार पाइरहेका छन् ।
ल्होत्सेले सम्झौताअनुसार हाल काठमाडौँ महानगरपालिकालाई एक करोडभन्दा बढी वार्षिकरुपमा राजस्व तिर्दै आएको छ । ल्होत्सेले सम्झौताअनुसार बसपार्कभित्र निर्माण गरिएका संरचना सम्झौता सकिएपछि महानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । पछिल्लो समय ल्होत्से बहुउद्देश्यीय प्रालिले यातायात प्रालिसँगको सहकार्यमा बसपार्कमा टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य पोसाक र परिचयपत्रको व्यवस्था मिलाएको छ ।
बसपार्क छिर्ने मुखमा निर्माण भएको ल्होत्से मल सञ्चालनमा आएको चार वर्षमा दुईपटक आक्रमणको सिकार बन्यो । २०७९ फागुन १ गते ट्राफिक प्रहरीले यातायात मजदुरलाई जथाभावी रुपमा दुःख दिएको भन्दै यातायात मजदुरले गरेको आन्दोलनका क्रममा मलभित्र लुटपाट हुनुका साथै उक्त मलको सिसा फुटाइयो । यस्तै, २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ल्होत्से मलमा आगो लगाइयो । पहिलोपटक सात करोड र दोस्रोपटक ३५ करोडको क्षति भएको थियो ।
हाल काठमाडौँको नयाँबसपार्कबाट देशका विभिन्न भागमा दैनिक ३५० देखि ४०० सार्वजनिक सवारीसाधन आवतजावत हुँदै आएका छन् । ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्ल नयाँबसपार्कभित्रबाट सार्वजनिक सवारीसाधनमार्फत दैनिक १० हजारभन्दा बढी यात्रु आवतजावत गर्ने गरेको बताउँछन् । हाल नयाँबसपार्कबाट देशभरका ६० भन्दा बढी जिल्लामा सार्वजनिक बस आवतजावत हुँदै आएका छन् ।
नयाँबसपार्कभित्र रातको समयमा आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि नयाँबसपार्कभित्रै खान तथा सुत्नका लागि होटल तथा लजको व्यवस्था मिलाइएको छ ।
परम्परागत शैलीलाई विस्थापित गर्दै अहिले नयाँ बसपार्कमा कम्प्युटराइज्ड र अनलाइन टिकटिङ प्रणाली सुरु गरिएको छ । पूर्वयातायात व्यवस्थापन प्रालिले काठमाडौँबाट पूर्व चल्ने आफ्ना १०० भन्दा बढी सार्वजनिक सवारीसाधनमा अनलाइनमार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको बताएको छ ।
पूर्वयातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापा पूर्वतर्फ चल्ने सबै सवारीसाधनमा सिसी क्यामरा जडान, अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको बताउँछन् । सञ्चालक थापा अनलाइन टिकटले गर्दा यात्रुहरू ठगिने डर कम भएको र घरमै बसेर टिकट बुकिङ गर्न सकिने सुविधाले सर्वसाधारणलाई सहज बनाएको बताउँछन् ।
पछिल्लो समय काठमाडौँका विभिन्न ठाउँमा यत्रतत्र छरिएर रहेका सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट सञ्चालन गर्ने नीति काठमाडौँ महानगरपालिकाले लिएको छ । यो नीतिसँगै केही समय अगाडि माछापोखरी क्षेत्रको सडकबाट धादिङ, नुवाकोट, रसुवालगायतका जिल्लामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् ।






