काठमाडौं । किशोरीहरूसँग गरेको गोप्य च्याट बाहिरिएपछि गायक सुजन चापागाईं विवादमा तानिएका छन् । पछिल्ला केही दिनयता टिकटक, इन्स्टाग्राम र रेडिटजस्ता सामाजिक सञ्जालमा चापागाईंका गोप्य च्याट भन्दै विभिन्न स्क्रिन सट र भिडियोहरू सार्वजनिक भएका छन् ।

बाहिरिएका गोप्य च्याटमा सुजनले दोहोरो अर्थ लाग्ने र अश्लील शब्दहरूको प्रयोग गरिएको छ । च्याट बाहिरिएसँगै टिकटकमा अन्य कतिपय किशोरीलेसमेत चापागाईंले इन्स्टाग्रामको भ्यानिस मोड (म्यासेज हेरेपछि आफैं डिलिट हुने फिचर) अन गरेर आफूहरूसँग अश्लील कुराकानी गर्ने गरेको दाबी गरेका छन् । जसलाई लिएर अहिले उनको आलोचना भइरहेको छ ।

ADVERTISEMENT

चौतर्फी आलोचनापछि सुजनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिँदै केही च्याट आफ्नै भएको स्विकारेका छन् । ‘विगतमा आफू नजिक रहेका र आफूले नजिक ठानेका साथीहरूसँग म्यासेज आदानप्रदान गरेको कुरा सत्य हो,’ उनले भनेका छन्, ‘जसबाट उत्पन्न दुःखद परिस्थितिका निम्ति म अन्तरहृदयदेखि नै माफी माग्न चाहन्छु ।’

ADVERTISEMENT

सामाजिक सञ्जालमा आएका सबै सामग्रीबारे भने आफू अनभिज्ञ रहेको उनको जिकिर छ । आफ्नो सामाजिक सञ्जाल एकाउन्ट आफूले मात्र नभई विभिन्न समयमा म्यानेजरहरूलेसमेत चलाउने गरेको उल्लेख गर्दै उनले कतैबाट दुरुपयोग भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

‘मेरो सोसियल मिडिया मैले मात्र ह्यान्डल गर्न सम्भव नभएको हुँदा विभिन्न कालखण्डमा सोसियल मिडिया म्यानेजरहरूले म्यानेज गर्ने गरेका थिए । सोही समयमा कहीँ कतै दुरुपयोग भयो कि भन्ने मेरो प्रारम्भिक अनुमान छ,’ उनले भनेका छन् ।

ADVERTISEMENT

सुजन हाल सांगीतिक कार्यक्रमका सिलसिलामा अस्ट्रेलियामा छन् । चापागाईंले यसलाई ‘अनैतिक तथा अनुचित हर्कत’ भन्दै आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको जनाएका छन् । सुजन पछिल्लो पुस्ताका चर्चित गायक तथा संगीतकार हुन् । सिनेमाका साथै उनका पप आधुनिक गीत प्रायः हिट छन् ।