सुर्खेत। कर्णाली प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अवरुद्ध पारेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सहमति, कानुन तथा स्थापित मापदण्डविपरीत ल्याएको आरोप लगाउँदै नेकपाले बजेट संशोधन नभएसम्म सदन सञ्चालन हुन नदिने चेतावनी दिएको हो।

बिहीबार बसेको प्रदेशसभा बैठकमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले सरकारले विगतका सहमति उल्लंघन गरेको, आर्थिक वृद्धिको स्पष्ट लक्ष्य नदिएको तथा कानुनी व्यवस्थासमेत बेवास्ता गरेको आरोप लगाए। उनले बजेटसम्बन्धी उठाइएका प्रश्नमा आर्थिक मामिलामन्त्रीले स्पष्ट जवाफ दिन नसकेको बताए।

ADVERTISEMENT

शाहीले व्यक्तिगत उद्योग तथा प्रतिष्ठानमा सरकारी लगानी नगर्ने सहमति विपरीत निजी क्षेत्रका योजनामा बजेट विनियोजन गरिएको दाबी गरे। साथै २० लाख रुपैयाँभन्दा कम लागतका योजना नल्याउने र टुक्रे योजना अन्त्य गर्ने सहमति पनि सरकारले उल्लंघन गरेको उनको भनाइ थियो।

ADVERTISEMENT

एमाले सांसद बिन्दमान विष्टले समेत बजेटमाथि उठेका प्रश्नको सन्तोषजनक जवाफ नआएको भन्दै सरकार सदनप्रति उत्तरदायी बन्नुपर्ने बताए।

प्रतिपक्षी दलको अवरोधपछि सभामुख नन्दा गुरुङले बैठक १५ मिनेटका लागि स्थगित गरेकी छन्।

ADVERTISEMENT