काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैली, लोकप्रियता र युवा नेतृत्वको प्रशंसा गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राउतले प्रधानमन्त्री शाहको व्यक्तित्व र कार्यक्षमता विशिष्ट तहको रहेको उल्लेख गरे ।

ADVERTISEMENT

राउतले प्रधानमन्त्री शाह युवा, बौद्धिक र साहसी हुनुका साथै उनको कार्यशैली स्टाइलिस रहेको बताए । प्रधानमन्त्रीले पहिरिने विशिष्ट कालो पोसाकको चर्चा गर्दै उनले भारतीय अभिनेता देवानन्दसँग तुलना गरे । ‘जसरी विगतमा भारतमा देवानन्दलाई कालो पोसाक लगाउन निषेध गरिएको चर्चा चल्थ्यो, हाम्रो देशमा पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीलाई कालो लुगा लगाउन नदिने कानुन ल्याउन माग गरे भने अचम्म नमाने हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री शाहलाई हिमाल, पहाड र मधेसका सम्पूर्ण नेपाली जनताले अगाध माया गरेको उल्लेख गर्दै अध्यक्ष राउतले यस्तो जनविश्वास इतिहासमै विरलै देखिने टिप्पणी गरे ।
‘हामीले अत्यन्तै ुस्मार्टु र दूरदर्शी युवा प्रधानमन्त्री पाएका छौँ, उहाँ समस्यामा अल्झिनेभन्दा पनि समस्याभन्दा माथि उठेर समाधानको खोजी गर्ने उच्च तहको नेतृत्व हुनुहुन्छ,’ उनले भने । मधेसको छोरालाई प्रधानमन्त्रीको रूपमा अघि सारेर नयाँ राजनीतिक मानक स्थापित गरेकोमा उनले रास्वपा नेतृत्वलाई धन्यवादसमेत दिए ।

ADVERTISEMENT

राउतले रास्वपाले अघि सारेको देश विकास र समृद्धिको सपना र आफ्नो पार्टीको उद्देश्य मिल्दोजुल्दो रहेको स्पष्ट पारे । देश बनाउने र नागरिकको जीवनस्तर सुधार्ने साझा संकल्पका कारण आफू महाधिवेशनमा ऐक्यबद्धता जनाउन आएको उनले बताए ।