ललितपुर । ललितपुरस्थित डीएभी सुशील केडिया विश्व भारती स्कुलका एक विद्यार्थीको मृत्यु भएको छ। कक्षा १२ मा अध्ययनरत काठमाडौँको गौशाला निवासी आरएन सिंहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार विद्यार्थी सोमबार दिउँसो लडेको जानकारी प्राप्त भएको थियो। घटनापछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि करिब ६ घण्टापछि चिकित्सकले मृत घोषणा गरेका थिए।

ADVERTISEMENT

प्रहरीले प्रारम्भिक रूपमा घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। विद्यार्थी दुर्घटनावश लडेका हुन् वा आत्महत्याको प्रयास गरेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

मृतकका आफन्तले पनि घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ।