काठमाडौं।  चर्चित सेफ सन्तोष साहलाई ठगी तथा बैंकिङ कसुरसम्बन्धी आरोपमा तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सन्तोष साह र उनका सहोदर दाइ नारायण साह सुडीलाई गत जेठ २९ गते राति जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। सोमबार दुवैजनालाई अदालतमा उपस्थित गराइएको थियो।

ADVERTISEMENT

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार अदालतले दुवैजनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रहरीका अनुसार गैरीधारास्थित एक रेस्टुरेन्ट खरिदका क्रममा सहमतिअनुसारको रकम भुक्तानी नगरी ठगी गरेको आरोपमा पूर्व सञ्चालक सकुन्तला थापाले उजुरी दिएकी थिइन्। उक्त उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

सन्तोष साह र उनका साझेदारहरूले ‘मिथिला थाली’ नामबाट रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। यस प्रकरणमा मिथिला थालीसँग सम्बन्धित थप दुई सञ्चालकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार सन्तोषका अर्का सहोदर दाइ दिलीपकुमार साह र रामहित साहविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। उनीहरूको खोजी तथा अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक तथ्य संकलनपछि कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।