काठमाडौं । देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आइतबार देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस प्रदेशमा आंशिक बदली रहेको छ।

ADVERTISEMENT

आज दिउँसो कोसी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी भूभाग र मधेस, वाग्मती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोसी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

ADVERTISEMENT

उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै वाग्मती र गण्डकीका तराई क्षेत्र तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोसी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ भने वाग्मती र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

ADVERTISEMENT

महाशाखाले मेघगर्जन, चट्याङ तथा वर्षाबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।