काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा पूर्वराष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठ नियुक्त भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार श्रेष्ठलाई उपाध्यक्ष नियुक्त गरेको हो ।

श्रेष्ठ लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य थिए । केही वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका उनी अब नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको नेतृत्व तहमा पुगेका छन् ।

ADVERTISEMENT

मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले चारजना बोर्ड सदस्य पनि नियुक्त गरेको छ । नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्वअन्तरराष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बू तथा फुटबल खेलाडी पवन शाही छन् ।

मन्त्रालयको यो निर्णयलाई खेलकुद प्रशासनमा अनुभवी खेलाडीहरूको सहभागिता बढाउने प्रयासका रूपमा हेरिएको छ । नवनियुक्त पदाधिकारीहरूले नेपाली खेलकुदको विकास, व्यवस्थापन र नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT