काठमाडौं । नेपालले एसियन गेम्स छनोट प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा नेपालले हङकङलाई १९ रनले (डीएलएस) मेथडमा पराजित गर्दै उपाधि जितेको हो।
वर्षाले खेल रोकिएपछि नेपाल डकवर्थ लेविस स्टर्न पद्धतिका अनुसार १९ रनले अघि रहेर उपाधि जित्न सफल भएको हो । प्रत्युत्तरमा नेपालले ११.३ ओभरमा ११४ रन बनाएको थियो।
यसअघि हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको थियो । सिंगापुरमा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो ।
दुई खेलाडीले अर्धशतक बनाएपछि हङकङले बलियो स्कोर बनाएको हो । अन्शुमन रथले सर्वाधिक ८० रन बनाए । उनले ४५ बलमा समान ६ चौका र छक्का प्रहार गरे ।
शहिद वासिफले २४ बलमा ५५ रन बनाए । ७ चौका र ३ छक्का हिर्काएका उनलाई शेर मल्लले बोल्ड गरेका थिए । त्यसबाहेक शिव माथुरले २१ बलमा २६ रन बनाए ।
ओपनर निजाकत खान दुई तथा तेस्रो नम्बर क्रिजमा आएका बाबर हायत डक आउट भएपछि हङकङ दबाबमा आएको थियो । तेस्रो विकेटको लागि माथुर र अन्शुमनबीच ३७ बलको लागि ४८ रनको साझेदारी भयो । वासिफ र अन्शुमनबीच नै ३९ बलमा ८४ रनको बलियो साझेदारी भएको हो ।

नेपालको लागि शेर मल्लले एक्लै चार विकेट लिए । उनले ४ ओभरमा ३२ रन खर्चे । करण केसीले २ विकेट लिँदा सन्दीप लामिछानेले भने एक विकेट लिए ।
प्रतियोगिताबाट फाइनलमा पुगेका नेपाल र हङकङसँगै सेमिफाइनल पुगेका मलेसिया र ओमान जापानमा हुने एसियाली खेलकुदमा छनोट भएका छन् । अब यी चार टिमले आयोजक जापानसँगै भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशसँग खेल्नेछन् ।







