काठमाडौं । रास्वपा सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङमाथि अनुसन्धान गर्न गठित छानबिन समितिले प्रतिवेदन तयार पारेको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप म्याद मागेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो।
अकुत सम्पत्ति जोडेको, त्यसको स्रोत नभएको र विवादित व्यवसायी दीपक भट्ट साझेदार रहेका तथ्य सार्वजनिक भएपछि गुरुङले वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए। उनीमाथि छानबिन गर्न सरकारले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेको छानबिन समितिले प्रधानमन्त्रीको समय लिएर प्रतिवेदन बुझाउने तयारी गरेको छ। गुरुङलाई लागेका आरोपको सफाइ पाउने गरी छानबिन समितिले प्रतिवेदन तयार पारेको स्रोतले बतायो ।
समितिले सम्भवतः शुक्रबार नै प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने छ । प्रतिवेदनमा गुरुङको सम्पत्तिको स्रोतबारे त्यति सूक्ष्म ढंगले छानबिन गरिएको छैन । पुख्र्यौली सम्पत्ति नै धेरै भएको भन्ने जस्ता शब्द प्रतिवेदनमा राखिएको छ । गु्रुङले किनेका सेयर र जग्गाको विषयमा समेत गहिरिएर अध्ययन नगरिएको बताइन्छ ।
गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय खाली राखिएको छ। अहिले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नै सम्हालेका छन् ।
छानबिन समितिले दिएको प्रतिवेदनलाई आधार बनाएर प्रधानमन्त्री शाहले उनलाई गृह मन्त्रालयमा फर्काउने तयारी भएको स्रोतले बतायो । सोही कारण गुरुङले आफू मन्त्री पदमै रहेको जस्तो शक्ति देखाउन थालिसकेका छन् ।











