काठमाडौं । सरकारले अध्ययन बिदाबाट नफर्किएका प्राध्यापकबाट साढे १० करोड रुपैयाँ फिर्ता पाएको छ ।
शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रालयको पहल तथा त्रिभुवन विश्वविद्यालयको सक्रियतामा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको हो ।
थप प्राध्यापकसमेत रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको उनले बताएका छन् । पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानलाई यसबाट महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् ।
विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्राध्यापकलाई अध्ययन बिदाको विशेष अवसर प्रदान गरिने गरिन्छ । तर सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त सो सुविधाको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र नभई शैक्षिक र नैतिक क्षतिसमेत पुर्याएको मन्त्रालयले जनाएको छ ।
यसलाई गम्भीरतापूर्वक लिँदै शिक्षा मन्त्रालयले विश्वविद्यालयलाई आवश्यक पहल गर्न प्रोत्साहित गरेको थियो । त्यसपछि गरिएको छानबिन र कानुनी प्रक्रियाको परिणामस्वरूप रकम फिर्ता हुने क्रम तीव्र बनेको हो ।
यो उपलब्धि केवल रकम असुलीको विषय मात्र नभएर सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने, संस्थागत अनुशासन कायम गर्ने र उच्च शिक्षा प्रणालीप्रति नागरिकको विश्वास सुदृढ गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको मन्त्रालयको ठम्याइ छ ।








