भारत (गोवा) । दक्षिण एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेश टोलीसँग भिड्न नेपाली महिला राष्ट्रिय फुटबल टोली पूर्ण रूपमा तयारी अवस्था छ ।
सन् २०१० देखि आयोजना हुँदै आएको यस च्याम्पियनसिपको करिब १६ वर्षको यात्रामा नेपाल सदैव सेमिफाइनलमा पुगेको छ । यस अवधिमा कयौँपटक उपविजेता बन्दा नेपालले प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन । पछिल्लोपटक बंगलादेशले नेपाललाई टक्कर दिँदै पछि पार्दै आएको छ ।
विगत पाँच वर्षयता नेपाल बंगलादेशसँग पराजित हुँदै आएको छ । साफ च्याम्पियनसिपको सुरुआती यात्रादेखि निरन्तर सन् २०२१ सम्म बंगलादेशलाई हराउँदै आएको नेपाल त्यसपछि भने पराजित हुँदै आएको हो ।
पछिल्लो तथ्यांकअनुसार जम्माजम्मी १३ खेलमध्ये नेपालले ६ खेलमा विजय हासिल गर्दा बंगलादेशले पाँच खेलमा जित हासिल गरेको छ । यसैगरी, दुई खेल बराबरीमा टुंगिएको छ ।
सन् २०२२ मा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । सन् २०२४ को साफ च्याम्पियनसिपमा पनि बंगलादेशले नेपालाई नै हराउँदै लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि उचाल्यो । सोही हारहरूको बदला लिँदै आज नेपाल बंगलादेशसँग भिड्दै छ ।
भारतको गोवास्थित पण्डित जवाहरलालनेहरु रंगशालामा हुने उक्त खेल स्थानीय समयअनुसार अपराह्न ४ बजे हुनेछ ।
नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले बंगलादेशविरुद्ध आफ्नो टोली शारीरिक र मानसिक रूपमा बलियो भएको बताए । प्रतियोगिताको सुरुआती खेलमा गोवाको अत्यधिक गर्मी र आद्र्रताका कारण खेलाडीमा थकान देखिए पनि दोस्रो खेलसम्म आइपुग्दा टोलीले मौसमसँग आफूलाई अभ्यस्त बनाइसकेको उनले बताए ।
हालै टोलीमा आबद्ध भएकी मिडफिल्डर प्रिती राईको आगमनले टोलीको मनोबल थप उच्च भएको मुख्य प्रशिक्षक न्यौपानेको भनाइ छ । कम्बोडियामा खेलिसकेकी प्रितीलाई गोवाको मौसममा खेल्न समस्या नहुने विश्वास व्यक्त गर्दै उहाँले प्रितीको बल वितरण क्षमता टोलीका लागि महत्त्वपूर्ण हुने बताए ।
प्रिती सेमिफाइनदेखिको खेलका लागि गोवा आइपुगेकी हुन् । उनी कम्बोडियाको क्लबमा आबद्ध भएका कारण दुई दिनअघि मात्र गोवा आइपुगेकी हुन् । प्रशिक्षक न्यौपानेले टोलीले संगठित र‘कम्प्याक्ट डिफेन्ससहित काउन्टर आक्रमणमा जोड दिने योजना रहेको बताए । पछिल्ला दुई खेलमा दायाँ विङबाट धेरै आक्रमण भएको र बायाँ पक्षबाट अपेक्षित क्रस आउन नसकेको स्वीकार गर्दै उनले त्यसमा सुधारका लागि प्रशिक्षण भइरहेको जानकारी दिए ।
नेपाली दर्शकको समर्थनले खेलाडीहरूमा अतिरिक्त ऊर्जा थपिने र सेमिफाइनलमा जित निकालेर फाइनलयात्रा तय गर्ने नेपाली टोलीको लक्ष्य छ ।
समूह चरणको खेलमा नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई एक शून्य गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको थियो । त्यसैगरी समूहको अन्तिम खेलमा नेपालले श्रीलंकालाई दुई शून्य गोलअन्तरले पाखा लगाउँदै प्रतियोगिताको सेमिफाइनलयात्रा तय गरेको हो ।








