काठमाडौं । फरहान अख्तरसँगको झगडा अभिनेता रणवीर सिंहका लागि भारी पर्ने देखिएको छ । ‘धुरन्धर’ र ‘धुरन्धर २’ को सफलतापछि रणवीरले फरहान निर्देशित ‘डन ३’ फिल्म बीचैमा छाडेपछि विवाद चुलिएको हो ।

रणवीर ‘डन ३’ बाट अचानक बाहिरिएपछि भारतीय चलचित्रकर्मीको संस्था ‘फेडरेसन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइज’ (एफडब्लुआइस) ले सिंहविरुद्ध असहयोगको निर्देशन जारी गरेको छ ।

ADVERTISEMENT

संस्थाले पटकपटक छलफलका लागि बोलाउँदा पनि रणवीर उपस्थित नभएको आरोप लगाएको छ । एफडब्लुआइसका प्रमुख सल्लाहकार अशोक पण्डितले छायांकन सुरु हुन तीन सातामात्र बाँकी रहँदा रणवीरले फिल्म छाडेको बताए । त्यसपछि फरहान र निर्माता रितेश सिधवानीको कम्पनी एक्सेल इन्टरटेनमेन्टलाई बोलाएर घटनाबारे जानकारी लिइएको थियो ।

ADVERTISEMENT

संस्थाका अनुसार फिल्मको प्रिप्रडक्सनमा होटल बुकिङ, लोकेसन, विदेश भ्रमणसहित दुई सयभन्दा बढी कामदारका व्यवस्थापनमा ठूलो रकम खर्च भइसकेको थियो । ती सबै खर्च कागजी प्रमाणसहित देखाइएको एफडब्लुआइसले जनाएको छ । निर्माण पक्षले करिब ४५ करोड भारु क्षतिपूर्ति माग गरेको बताइएको छ ।

पण्डितका अनुसार रणवीरले एक्सेल इन्टरटेन्मेन्टसँग तीन फिल्मको सम्झौता गरेका थिए । फिल्मको लोकेसन अवलोकनदेखि स्क्रिप्ट छलफल र प्रचार भिडियोसम्म उनी संलग्न थिए । तर, पछि अचानक फिल्मबाट बाहिरिएपछि निर्माण टिमलाई ठूलो आर्थिक क्षति पुगेको दाबी गरिएको छ ।

ADVERTISEMENT

एफडब्लुआइसले रणवीरलाई आफ्नो पक्ष राख्न तीनपटक पत्र पठाएको थियो । तर उनले कुनै प्रतिक्रिया नदिएको र अन्तिममा उनका प्रतिनिधिमार्फत ‘यो विषय एफडब्लुआइसको क्षेत्राधिकारभित्र पर्दैन’ भन्ने जवाफ आएको जनाइएको छ । एफडब्लुआइस अध्यक्ष बीएन तिवारीले सुपरस्टार कानुनभन्दा माथि हुन सक्दैन भन्दै रणवीर व्यक्तिगत रूपमा उपस्थित नभएसम्म असहयोग जारी रहने बताएका छन् । संस्थाका महासचिव अशोक दुबेले भारतभरका प्राविधिक, स्पटब्वाय र अन्य कामदारले रणवीरसँग काम नगर्ने बताएका छन् ।

एफडब्लुआइस भारतीय फिल्म उद्योगसँग सम्बन्धित कामदार र प्राविधिकको ठूलो संगठन हो । यो ३२ वटा विभिन्न क्राफ्ट तथा पेशागत संघको मातृसंस्था पनि हो । संस्थाले आफ्ना सदस्यको आर्थिक, पेशागत र सांस्कृतिक हितको संरक्षण तथा प्रवर्धन गर्ने काम गर्छ । एफडब्लुआइसले फिल्म उद्योगभित्र हुने पेशागत विवाद, सम्झौता सम्बन्धी समस्या र पारिश्रमिक नपाएको जस्ता विषयमा हस्तक्षेप गर्ने अधिकार राख्छ ।

रणवीरले सन् २०२५ डिसेम्बरमा ‘डन ३’ छाडेका थिए । उनले स्क्रिप्टमा भएका परिवर्तनलाई फिल्म छाड्नुको कारण बनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रणवीरले आफ्नाे क्यारेक्टरले अश्लील संवाद गर्न पाउनुपर्ने माग गरेका थिए । तर फरहानले त्यसलाई ठाडै अस्वीकार गरेपछि रणवीरले फिल्म छाडेकाे बताइन्छ ।