काठमाडौं, ७ जेठ । शैक्षिक जनशक्ति विकास परिषद् ले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीन वटा नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत गरेको छ ।

सस्मित पोखरेल को अध्यक्षतामा बुधबार बसेको परिषद्को २९ औँ बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरेको हो ।

ADVERTISEMENT

शिक्षा नियमावली २०५९ को नियम ७२ बमोजिम स्थापना भएको परिषद्ले शिक्षक, शिक्षा मन्त्रालयअन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न जनशक्तिको कार्यदक्षता विकास, नीति निर्माण र व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।

मन्त्रालयका अनुसार शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम कार्यान्वयन भएपछि प्रशिक्षकहरूको क्षमता अभिवृद्धि हुने र शिक्षकहरूको पेसागत विकासका लागि सञ्चालन गरिने तालिम थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT

त्यसैगरी, प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रमले विद्यालय शिक्षामा कुशल नेतृत्व विकास गर्दै विद्यालयको शैक्षिक तथा प्रशासनिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

परिषद्ले शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय तथा तृतीय श्रेणीका कर्मचारी र प्राविधिक सहायक कर्मचारीका लागि स्वीकृत सेवाकालीन तालिम पाठ्यक्रमले सङ्घीयताको मर्मअनुसार तीनै तहका कर्मचारीको क्षमता विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

मन्त्रालयले नयाँ पाठ्यक्रममार्फत जनमुखी सेवा प्रवाह सुदृढ हुनुका साथै शैक्षिक कार्यक्रमहरूको परिणाममुखी हुने अपेक्षा गरेको छ ।