महोत्तरी। मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी महिलाले श्रद्धा र उत्साहका साथ ‘बर्साइत’ पर्व मनाइरहेका छन् । जेठ औँसीका दिन मनाइने यो पर्वलाई ‘वटसावित्री’ पर्वका नामले पनि चिनिन्छ । अटल सौभाग्य र पारिवारिक सुख–समृद्धिको कामनासहित यो पर्व मनाउने परम्परा रहिआएको छ ।
पर्वका अवसरमा विवाहित महिलाहरू नयाँ लुगा लगाएर गाउँ–बस्ती नजिक रहेका वटवृक्ष (बरको रुख) मुनि भेला हुने गरेका छन् । उनीहरूले सती सावित्रीको आदर्श जीवन र पतिप्रतिको समर्पण झल्काउने गीत सामूहिक रूपमा गाउँदै पूजा–आराधना गर्ने परम्परा छ । यस क्रममा सावित्रीको कथा सुन्ने र सुनाउने चलन पनि रहेको छ ।
पौराणिक मान्यताअनुसार सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाबाट पति सत्यवानको जीवन फिर्ता ल्याएर अटल सौभाग्यको वरदान प्राप्त गरेकी थिइन् । सोही विश्वासका आधारमा मिथिलानी महिलाले यो पर्व मनाउने गरेका हुन् ।
जेठ कृष्ण चतुर्दशीका दिनदेखि व्रत सङ्कल्प गरी औँसीका दिन निराहार व्रत बस्ने परम्परा रहेको छ । महिलाहरूले वटवृक्षको फेदमा ब्रह्मा, विष्णु, महेशसहित आफ्ना इष्टदेवको पूजा गर्दै सावित्रीको स्मरण गर्ने गर्छन् ।
यस वर्ष भोलिदेखि अधिकमास सुरु हुने भएकाले व्रतको समापन सूर्योदयअघि नै गरिने बताइएको छ । मैथिल कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झाले अधिकमासका कारण यसपालि व्रत सूर्योदयअघि नै सम्पन्न गरिने जानकारी दिए ।
मिथिलामा वटवृक्षलाई ब्रह्मा, विष्णु र महेशको वासस्थान मानिने भएकाले पर्वको सङ्कल्पदेखि पूजा र समापनसम्मका सम्पूर्ण विधि वटवृक्षमुनि सम्पन्न गरिन्छ ।
मिथिलामा यो पर्व धार्मिक आस्थामात्र नभई सामाजिक भेटघाट, आपसी दुःख–सुख साटासाट र सांस्कृतिक एकताको अवसरका रूपमा पनि लिइन्छ । साथीभाइसँग नाचगान गर्दै सामूहिक रूपमा पर्व मनाउने परम्पराले समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास गरिएको छ ।
बर्दिबास–९ की दुलारी ठाकुरले बर्साइत पर्वले महिलालाई एकआपसमा भेटघाट गर्ने, दुःख–सुख साट्ने र संस्कृति जोगाउने अवसर प्रदान गर्ने बताइन् ।
पहिले ब्राह्मण, कायस्थ र सोनार समुदायमा सीमित रहेको यो पर्व पछिल्लो समय सबै जातजातिका महिलाले मनाउन थालेका छन् । मिश्रित बस्ती र सांस्कृतिक आदान–प्रदानका कारण मिथिलाको यो परम्परा अहिले व्यापक बन्दै गएको जानकारहरू बताउँछन् ।
याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णले पहिले सीमित समुदायमा मनाइने यो पर्व अहिले सबै जातजातिमा फैलिएको भन्दै यसले सांस्कृतिक एकताको सन्देश दिएको बताए ।








