काठमाडौं । संवैधानिक परिषद्ले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको विरुद्ध सर्वोच्च अदालतले निवेदन दर्ता गर्न आलटाल गरेकोप्रति नेपाल बार एशोसिएसनले आपत्ति जनाएको छ ।

अधिवक्ता प्रेमराज सिलवालको निवेदन दर्ता नगरेर पाँच दिनदेखि अल्मलाएपछि बारले विज्ञप्ति निकालेर सर्वोच्च प्रशासनको ध्यानाकर्षण गराएको हो ।

आएको निवेदन दर्ता वा दरपीठ नगरीकन सर्वोच्च प्रशासन मौनता साँधेर बस्नुले मुलुकको न्याय प्रणालीमाथि प्रश्न चिन्ह खडा भएको बारको ठहर छ ।

ADVERTISEMENT

‘विगत केही दिनदेखि सर्वोच्च अदालतमा रिट निवेदन दर्ताको लागि पेस भएका निवेदन प्रशासनबाट दरपीठ गरी दर्ता गर्न अस्वीकार हुने, सोपश्चात दरपीठविरुद्ध कानुनअनुसार इजलाससमक्ष सम्बन्धित शाखामा निवेदनसहितको फाइल पेश गरेकोमा सम्मानित सर्वोच्च अदालतको प्रशासनले दर्ता वा दरपीठ दुवै नगरी मौनता साँधी आएको भनि यस एशोसिएशनमा निवेदन दर्ता हुन आएको हुँदा यसका सम्बन्धमा सर्वोच्च अदालत प्रशासनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ ।

ADVERTISEMENT

प्रधानमन्त्री बालेन्द्र साहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेकोविरुद्ध अधिवक्ता सिलवालले गत वैशाख २५ गते सर्वोच्चमा रिट पेस गरेका थिए । ‘वरिष्ठताको अनुसार गर्ने स्थापित प्रचलन, अभ्यास र स्वतन्त्र न्यायालय र शक्ति पृथकीकरणको आधारभूत मूल्यविपरीत हुनेगरी’ सिफारिस गरिएको भन्दै उनले बदरका लागि रिट हालेकोमा सर्वोच्चका रजिष्ट्रारले दरपीठ गरेका हुन् ।

ADVERTISEMENT

सिलवालले उक्त दरपीठविरुद्ध वैशाख २८ गते निवेदन पेस गरेका थिए । तर, सर्वोच्चले निवेदन दर्ता गर्न आलटाल गरेपछि उनले बार एसोसिएसन गुहारेका हुन् । अब अधिवक्ता सिलवालको विषयमा बारले नै पक्ष लिने भएको छ । त्यसै पनि प्रधानन्यायाधीश सिफारिसकै कारण बार र बेच्नबीच बेमेल सुरु भइसकेको छ ।