धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफूले पाउने पारिश्रमिक तथा सेवा–सुविधा बापतको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने अभियानलाई निरन्तरता दिएका छन्।

सोही अभियानअन्तर्गत शुक्रबार उनले धनगढीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन्।

ADVERTISEMENT

मेयरमा निर्वाचित भएदेखि नै सरकारी सुविधा नलिने घोषणा गरेका हमालले हालसम्म प्राप्त सम्पूर्ण रकम शिक्षा, गौ–सेवा तथा असहायहरूको सहयोगमा खर्च गर्दै आएका छन्।

ADVERTISEMENT

आर्थिक वर्ष २०७८/०७९ मा प्राप्त १ लाख ३७ हजार २ सय ७३ रुपैयाँमध्ये गौ संरक्षण सेवा समितिलाई ५५ हजार ६ सय ८७ रुपैयाँ तथा दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार ५ सय ८६ रुपैयाँ नगद सहयोग गरिएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँमध्ये २ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको थियो। उक्त सहयोगबाट दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, आमाको माया छात्रावास, खगेन्द्र नवजीवन केन्द्र र दक्षिणकाली विद्यालयका २ सय ६९ जना आश्रित लाभान्वित भएका थिए।

ADVERTISEMENT

आर्थिक वर्ष २०८०/०८१ मा कक्षा ८ को वार्षिक परीक्षामा शून्य नतिजा आएका १७ वटा सामुदायिक विद्यालयका ३ हजार ४ सय ८९ जना विद्यार्थीलाई कापी, पेन्सिल, कटर र इरेजरलगायत शैक्षिक सामग्री वितरण गरिएको थियो। यसमा ९ लाख ९२ हजार ६ सय ५ रुपैयाँ खर्च गरिएको थियो।

चालु आर्थिक वर्ष २०८१/०८२ मा भने धनगढीका ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ हजार ४ सय ७५ जना विद्यार्थीलाई १० लाख रुपैयाँ बराबरको स्टेशनरी सामग्री वितरण गरिएको छ।

नगर प्रमुख हमालले आगामी आर्थिक वर्ष २०८२/०८३ मा प्राप्त हुने सेवा–सुविधाको रकम पनि सामाजिक काममै खर्च गर्ने योजना रहेको बताए। उनले व्यक्तिगत तर्फबाट थप ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै कुल ४४ लाख रुपैयाँ सामाजिक विकासका क्षेत्रमा खर्च गरिने जानकारी दिए।

उनका अनुसार हालसम्म सेवा–सुविधाबाट कुल ३८ लाख ८२ हजार ८ सय ७३ रुपैयाँ प्राप्त भएको छ। यसमध्ये २३ लाख ९७ हजार रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ भने बाँकी रकममा व्यक्तिगत सहयोग थप गरी सामाजिक क्षेत्रमा लगानी गरिनेछ।

विपन्न तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्ने र सामाजिक अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले यस्तो कार्य गरिएको हमालले बताएका छन्।