मुस्ताङ । प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गतचैत महिनासम्ममा ४२ जनाले गर्भपतन सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.समीक्षा कँडेलले जानकारी दिइन् ।

प्रदेश अस्पताल जोमसोम मात्र सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएको छ भने दुई चिकित्सकसहित पाँच स्वाथ्यकर्मीले सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन तालिम प्राप्त गरेका छन् ।

मुस्ताङमा सरकारी अस्पतालमा मात्र सुरक्षित गर्भपतन सेवा सीमित छ । सुपरिटेन्डेन्ट कँडेलले भनिन्, ‘अस्पतालमा १२ हप्ता अर्थात् तीन महिनासम्मका गर्भवतीको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ र सो अवधिभन्दा माथिलाई उपल्लो निकायमा प्रेषण गर्ने गरेको छ ।’

अस्पतालमा ‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ नामक औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा (एमए) तथा औजारसहित अन्य प्रक्रियाका माध्यमबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिँदै आएको कँडेलले बताइन् ।

१२ हप्तासम्मको गर्भपतनलाई म्यानुअल भ्याकुम एस्पिरेसन (एमभिए) विधिमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा औजारका माध्यमबाट गरिन्छ । १३ देखि १८ हप्तासम्म गर्भलाई कम्प्रिहेन्सिब इमरजेन्सी अब्सटेटिक नियोनेटल कियर सुविधा भएको सूचीकृत स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा डाइलेटेसन एन्ड इभ्याकुएसन (डिएन्ड) गरिन्छ ।

औषधि विधि (एमए) बाट गरिने गर्भपतन सेवा प्रभावकारी रहेको छ । सुरक्षित गर्भपतन सेवाका बारेमा अझै जानकारी छैन । सेवा लिनसमेत अझै हिचकिचाउने प्रवृत्ति रहेको जनाइएको छ ।

मुस्ताङका हालसम्म सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन स्वास्थ्य संस्था दर्ता नभएको बताइएको छ । गर्भपतन सेवा लिन सूचीकृत स्वास्थ्य संस्थामै जानुपर्छ र ‘गर्भपतनका लागि अनधिकृत औषधि स्वास्थ्यकर्मीका सल्लाह विना सेवन गरिनु हुँदैन भन्ने चेतनाको अभाव यहाँ पनि रहेको बताइएको छ ।