काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद नियुक्तिका लागि आवेदन माग गरिएको छ ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले सूचना जारी गरी अध्यक्ष पदका लागि आवेदन माग गरेको हो ।
वैशाख ४ गते बोर्ड अध्यक्ष सन्तोष श्रेष्ठले राजीनामा दिएका थिए । उनले राजीनामा दिएको दश दिनभित्रै सरकारले बोर्ड अध्यक्षको आवेदन माग गरेको हो ।
आवेदन दिन चाहनेले सात दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा अवस्थित समितिको सचिवालयमा व्यक्तिगत विवरण पेस गर्न सक्नेछन् ।
अध्यक्षको योग्यताका हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको हुनुपर्नेछ ।
भ्रष्टाचारजन्य, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागु औषध कारोबार लगायतका फौजदारी कसुर पाएका व्यक्ति अध्यक्ष पदका लागि अयोग्य हुने छन् । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।
यस्तै, सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् । उनीहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएको र दुवैको राजीनामा स्वीकृतिसमेत भइसकेको छ ।
बस्याल ०८२ भदौ २० मा अध्यक्षमा नियुक्त भएका थिए । चापागाईंलाई ०८१ चैत १९ मा मन्त्रिपरिषद्ले नेप्सेको सीईओमा नियुक्त गरेको थियो ।





