काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगले विदेशमा रहेको सम्पत्तिसमेत खोजी गर्ने तयारीसहित काठमाडौंको केशरमहलबाट काम सुरु गरेको छ।

गत वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगले केशरमहलस्थित पुरानो शिक्षा मन्त्रालय भवनमा कार्यालय स्थापना गरी औपचारिक रूपमा काम सुरु गरिसकेको जनाएको छ।

ADVERTISEMENT

आयोगलाई सार्वजनिक पदमा रहेका, सेवानिवृत्त तथा पदबाट हटिसकेका पदाधिकारी र उनीहरूका परिवारको स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन गरी त्यसको स्रोतसमेत खोजी गर्ने अधिकार दिइएको छ। आवश्यकताअनुसार सम्पत्ति विवरण भर्न लगाउने, उजुरी संकलन गर्ने र सम्बन्धित व्यक्तिको बयानसमेत लिन सकिने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

आयोगले लिखित, मौखिक, विद्युतीय माध्यम तथा सामाजिक सञ्जालमार्फत समेत उजुरी संकलन गर्ने तयारी गरेको जनाएको छ। आयोगका एक सदस्यका अनुसार उजुरीका आधारमा स्वदेश–विदेशमा रहेको सम्पत्तिको सूक्ष्म अनुसन्धान गरिनेछ।

आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले केशरमहलमा कार्यालय स्थापना भइसकेको र कर्मचारी खटिँदै गएसँगै कामलाई क्रमिक रूपमा तीव्र बनाइने बताएका छन्।

ADVERTISEMENT

आयोगमा पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी, पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल तथा चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल सदस्यका रूपमा रहेका छन्।

जाँचबुझ ऐन, २०२६ बमोजिम काम गर्ने अधिकार पाएको आयोगलाई एक वर्षको कार्यकाल तोकिएको छ। आयोगका लागि प्रारम्भिक रूपमा ३२ जना कर्मचारी खटाउने व्यवस्था गरिएको छ।