काठमाडौं। काठमाडौं महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता संरक्षण गर्ने उद्देश्यसहित आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ।कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म तथा महाबौद्धबाट असनसम्मको क्षेत्रमा कार्यक्रम लागू हुनेछ। हरेक शनिबार सञ्चालन हुने यस अवधिमा सवारीसाधनको प्रवेश पूर्ण रूपमा निषेध गरिनेछ।
महानगरले आफ्नो क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि निरन्तर काम गर्दै आएको जनाएको छ। यस पहलले काठमाडौंको सांस्कृतिक पहिचान, परम्परागत जीवनशैली तथा जात्रा–पर्वको संरक्षण र पुस्तान्तरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रवक्ता नवीन मानन्धरका अनुसार बढ्दो सवारी चाप र मानवीय भीडका कारण भित्री सहरी क्षेत्रमा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। सांस्कृतिक र सामाजिक परम्परालाई मौलिक रूपमा निरन्तरता दिन कठिनाइ बढेकाले कार्यक्रम आवश्यक भएको हो।
शनिबार असन क्षेत्रमा सांस्कृतिक कार्यक्रम, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन र नृत्यजस्ता गतिविधि सञ्चालन हुनेछन्। परम्परागत व्यापार, धार्मिक तथा सांस्कृतिक क्रियाकलापको प्रदर्शनमार्फत क्षेत्रको मौलिक पहिचान जोगाउने लक्ष्य राखिएको छ।
कार्यक्रम अवधिमा जमल, भोटाहिटी, वीर अस्पताल, वटु गणेश, इन्द्रचोक लगायत विभिन्न स्थानबाट असनतर्फ सवारी प्रवेश निषेध गरिएको छ। वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। असन आउने आगन्तुकले धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाईस्कुल लगायत तोकिएका स्थानमा सवारी राखेर पैदलमार्फत असन प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ।






