काठमाडौं । एफवानसफ्ट इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सनतकुमार पौडेल नियुक्त भएका छन्। एफवानसफ्टले २२औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा पौडेललाई नयाँ सीईओका रूपमा नियुक्त गरेको घोषणा गरेको हो।

सह–संस्थापक तथा निर्देशक सुबास शर्मापछि उनले सीईओको जिम्मेवारी सम्हाल्नेछन् । शर्माले उक्त भूमिका एक दशकभन्दा बढी समयसम्म सम्हालेका थिए। शर्माले एफवानसफ्ट ग्रुपको दृष्टिकोणलाई व्यवहारमा उतार्दै इसेवा, फेनपेलगायतका डिजिटल वित्तीय समाधानहरूको विकास र विस्तारमा महत्वपूर्ण नेतृत्व गरेका थिए।

ADVERTISEMENT

यस्ते कार्यले नेपालको डिजिटल वित्तीय प्रणालीलाई रूपान्तरण गर्नुका साथै नागरिक, घरपरिवार तथा व्यवसायहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको कम्पनीले जनाएको छ । उनी अब निर्देशकको भूमिकामा रहँदै एफवानसफ्ट ग्रुपको रणनीतिक दिशानिर्देशनमा संलग्न हुनेछन्।

ADVERTISEMENT

हाल ‘फोन एनएक्टी प्रालि’ का सीईओ रहेका पौडेलले नयाँ जिम्मेवारीसँगै दुवै संस्थाको नेतृत्व गर्नेछन्। एफवानसफ्ट ग्रुपमा आवद्ध हुनुअघि पौडेलले नबिल बैंकमा एक दशकभन्दा बढी समय कार्य गर्दै पेमेन्ट टेक्नेलिज म्यानेजमेन्ट तथा डिजिटल ट्रान्सफर्मेसन प्रोग्रामको नेतृत्व गरेका थिए। उनीसँग दुई दशकभन्दा बढी आईसीटी क्षेत्रको अनुभव छ।

‘पछिल्ला २२ वर्षमा हामीले निर्माण गरेको आधारप्रति म अत्यन्त गौरवान्वित छु। एफवानसफ्टको वृद्धि हाम्रो सम्पूर्ण टोलीको साझा प्रयासको परिणाम हो, जसले नेपालको डिजिटल परिदृश्यलाई नयाँ उचाइमा पुर्‍याएको छ। यस ऐतिहासिक अवसरमा, आगामी यात्रामा सनतको नेतृत्वप्रति मलाई पूर्ण विश्वास छ,’ निवर्तमान सीईओ शर्माले भने।

नेपालमा डिजिटल वित्तीय सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एफवानसफ्टले नगदमा आधारित बजारमा प्रारम्भिक मोबाइल भुक्तानी समाधानहरू सुरु गर्दै आजको दिनसम्म आइपुग्दा देशका प्रमुख डिजिटल वालेट, अन्तरसञ्चालनयोग्य भुक्तानी प्रणाली तथा डिजिटल ऋण प्लेटफर्महरूलाई सक्षम बनाउने इकोसिस्टम निर्माण गरेको छ। यसले बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गर्दै नेपाली नागरिकहरूको वित्तीय पहुँचलाई सहज बनाउनुका साथै ‘क्यासदलेस इकोनोमी’ तर्फको यात्रालाई तीव्र बनाएको छ।

पौडेलले भने, ‘एफवानसफ्टको २२ वर्षे यात्राको यस महत्वपूर्ण मोडमा नेतृत्व गर्ने अवसर पाउनु मेरा लागि गर्वको विषय हो। हामीले निर्माण गरेको बलियो आधारलाई अझ सुदृढ बनाउँदै प्रविधि नेतृत्वलाई मजबुत पार्ने र सेवा विस्तारलाई तीव्र बनाउने हाम्रो लक्ष्य रहनेछ। साथै, दीर्घकालीन मूल्य सिर्जना गर्दै नेपालको फिनटेक दक्षतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने हाम्रो प्रतिबद्धता रहनेछ।’

तेस्रो दशकमा प्रवेश गर्दै कम्पनीले आफ्नो संस्थागत क्षमतालाई अझ मजबुत बनाउने, नेपालभित्र प्रभाव विस्तार गर्ने र फिनटेक क्षमतालाई विश्वव्यापी स्तरमा विस्तार गर्ने लक्ष्य राखेको छ।