काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज विश्वभर अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् २०११ अप्रिल ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको प्रस्तावअनुसार प्रत्येक वर्ष अप्रिल १२ लाई यो दिवसका रूपमा मनाइन्छ।

यो दिवसले अन्तरिक्ष विज्ञान तथा प्रविधिको योगदानलाई स्मरण गर्दै दिगो प्रविधिको विकासमार्फत विकास लक्ष्य हासिल गर्न तथा जनताको जीवनस्तर उकास्न प्रेरित गर्ने उद्देश्य राखिएको छ।

ADVERTISEMENT

सन् १९६१ अप्रिल १२ का दिन सोभियत नागरिक युरी गागरिनले पहिलो पटक सफल मानव अन्तरिक्ष उडान गर्दै पृथ्वीको परिक्रमा गरेका थिए। उनलाई अन्तरिक्ष यात्रा गर्ने पहिलो मानवका रूपमा चिनिन्छ, जसले अन्तरिक्ष अन्वेषणको नयाँ युगको सुरुआत गरेको मानिन्छ।

ADVERTISEMENT

यसअघि सन् १९५७ अक्टोबर ४ मा सोभियत संघले पहिलो मानव निर्मित पृथ्वी उपग्रह ‘स्पुतनिक–१’ अन्तरिक्षमा प्रक्षेपण गरेको थियो, जसले अन्तरिक्ष अन्वेषणको आधार तयार पारेको थियो।

त्यसपछि मानव अन्तरिक्ष यात्रामा ऐतिहासिक उपलब्धिहरू हासिल भए। सन् १९६३ जुन १६ मा भ्यालेन्टिना तेरेश्कोभा अन्तरिक्ष यात्रा गर्ने पहिलो महिला बनिन्। त्यसैगरी सन् १९६९ जुलाई २० मा अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङले चन्द्रमामा पहिलो पटक पाइला राख्दै मानव इतिहासमा नयाँ कीर्तिमान कायम गरे।

सन् १९७५ जुलाई १७ मा अपोलो र सोयुज अन्तरिक्ष यान जोडिएर पहिलो पटक अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष सहकार्य सफल भएको थियो।

संयुक्त राष्ट्रसङ्घले अन्तरिक्ष अन्वेषणलाई मानवजातिको साझा सम्पत्ति भन्दै यसको लाभ सबै राष्ट्रसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै आएको छ।