काठमाडौं । भक्तपुर मा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का: (बिस्केट) जात्रा आजदेखि सुरु भएको छ।नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ भन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गते सम्पन्न हुने गर्दछ।
लिच्छविकालदेखि चलिआएको मानिने बिस्का: जात्रा भक्तपुरको महत्वपूर्ण सांस्कृतिक तथा ऐतिहासिक पर्व हो। तौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरव र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिएको हो।

जात्राको पहिलो दिन भैलखः तानातान मुख्य आकर्षणका रूपमा रहने गर्दछ। क्वने (तल्लो टोल) र थने (माथिल्लो टोल) का बासिन्दाले अगाडि पाँच र पछाडि चार डोरी तानेर आ–आफ्नो क्षेत्रमा रथ लैजान प्रतिस्पर्धा गर्छन्।
तानातानको क्रममा थनेतर्फ तान्न सफल भएमा रथ दत्तात्रयसम्म लगिन्छ भने त्यसपछि पुनः विभिन्न मार्ग हुँदै क्वनेतर्फ फर्काइन्छ। यससँगै पहिलो दिनको जात्रा सम्पन्न हुन्छ।
दोस्रो दिनलाई शून्य दिनका रूपमा मनाइन्छ भने तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई गुठी संस्थानमार्फत सरकारी पूजा गरिन्छ। बलिपूजाको प्रसाद ‘स्याःक्वःत्याःक्वः’ का रूपमा स्थानीयलाई वितरण गरिन्छ।
चौथो दिन तालाक्वस्थित कुमाले टोलमा यसींद्यो (लिङ्गो) उभ्याउने परम्परा रहेको छ, जुन जात्राको अर्को प्रमुख आकर्षण मानिन्छ। यसले पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको संकेत गर्दछ।

वैशाख १ गते यसींद्योः ढाल्ने तथा भैरव–भद्रकालीको रथ जुधाइ ‘सङ्गम जात्रा’ मनाइन्छ, जसलाई स्थानीय भाषामा ‘द्योः ल्वाकिगु’ भनिन्छ।
जात्राका अन्य दिनहरूमा महाकाली, महालक्ष्मी, ब्रम्हायणी, महेश्वरी, बटुकभैरव, गणेशलगायत विभिन्न देवदेवीका जात्रा, सिन्दूर जात्रा र पूजा गरिन्छ।अन्तिम दिन पुनः भैलखः तानातान गर्दै जात्रा सम्पन्न गरिन्छ।
जात्रा अवधिभर शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएको छ।







