काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली समकक्षी शिशिर खनाललाई बधाई दिएका छन् । नवौँ हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन मौरिससको राजधानी पोर्ट लुइस पुगेका खनाललाई भारतीय समकक्षी जयशंकरले शुक्रबार भेटेरै बधाई दिएका हुन् ।
जयशंकरले आगामी दिनमा विभिन्न क्षेत्रमा गहिरो सहकार्य गरेर भारत र नेपाल साझेदारीको पूर्ण सम्भावनालाई साकार पार्ने बारे छलफल भएको जानकारी दिएका छन् ।
‘आज दिउँसो नेपालका विदेशमन्त्री शिशिर खनाललाई भेट्न पाउँदा खुसी लाग्यो। नियुक्तिको लागि बधाई छ। विभिन्न क्षेत्रहरूमा गहिरो सहकार्य गरेर भारत र नेपालबीच साझेदारीको पूर्ण सम्भावनालाई साकार पार्ने बारेमा छलफल गरियो,’ जयशंकरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
हालै सम्पन्न निर्वाचनपछि झन्डै दुई तिहाइ बहुमत ल्याएको रास्वपाको सरकारमा परराष्ट्रमन्त्री बनेका खनालको यो पहिलो विदेश भ्रमण र उच्च भारतीय नेतृत्वसँग भेट भएको हो ।
‘दुई नेताहरूले लामो समयदेखिको बहुआयामिक नेपाल–भारत सम्बन्धको समीक्षा गर्नुभयो। दुवै पक्षले पारस्परिक हितका विषयमा रचनात्मक र अग्रगामी छलफल गर्नुभयो । दुई राष्ट्रहरू बीचको द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।







