वासिङ्टन डिसी । इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यहरूको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकांक्षी उडान सम्पन्न गर्दै पृथ्वीतर्फ फर्किने यात्रा सुरु गरेको छ । करिब सात घण्टासम्म अन्तरिक्षयानको झ्यालमा आँखा गाडेर बसेका चार सदस्यीय टोलीले मानव इतिहासमै फरक र अभूतपूर्व खगोलीय अनुभव संकलन गरेका छन् ।

चन्द्रमाको कम चिनिएका क्रेटरहरूदेखि सूर्य ग्रहणसम्मका दृश्य अवलोकन गरेका अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षबाट देखिएका दृश्यलाई शब्दमा व्यक्त गर्नै कठिन भएको बताएका छन् । अन्तरिक्ष यात्री भिक्टर ग्लोभरले आफूहरूले देखेका दृश्य मानव कल्पनाभन्दा पर रहेको उल्लेख गर्दै त्यसलाई ‘अविश्वसनीय’ अनुभवका रूपमा वर्णन गरे ।

ADVERTISEMENT

उडानका क्रममा टोलीले चन्द्र सतहका सूक्ष्म संरचनाहरूलाई नजिकबाट नियालेका थिए भने चन्द्रमाले सूर्यलाई ढाक्दा देखिने सूर्य ग्रहणको दृश्य पनि प्रत्यक्ष देखेका थिए । त्यस्तै, चन्द्र सतहमा देखिएका उज्याला चमकहरू उल्का प्रहारका संकेत भएको उनीहरूले बताएका छन् । आर्टेमिस द्वितीयका प्रमुख वैज्ञानिक केल्सी यङले यस अभियानबाट प्राप्त वैज्ञानिक जानकारी अत्यन्तै मूल्यवान रहेको बताउँदै अन्तरिक्ष यात्रीहरूको योगदानको प्रशंसा गरे ।

ADVERTISEMENT

ऐतिहासिक दूरी पार गर्दै टोलीले सन् १९७० को अपोलो १३ अभियानले कायम गरेको कीर्तिमानसमेत तोडेको छ । उनीहरू पृथ्वीबाट करिब दुई लाख ५२ हजार ७६० माइल ९चार लाख छ हजार ७७८ किलोमिटर० टाढा पुगेका थिए, जुन अघिल्लो रेकर्डभन्दा चार हजार १०५ माइल बढी हो । अन्तरिक्ष यात्री जेरेमी ह्यानसेनले यो उपलब्धिले भावी पुस्तालाई अझ अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

यात्राका क्रममा उनीहरूले करिब ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्क गुमाउनुपरेको थियो, जुन अन्तरिक्षयान चन्द्रमाको पछाडि पुग्दा स्वाभाविक रूपमा हुने ‘ब्ल्याकआउट’ हो । यो क्षण ५० वर्षभन्दा बढीपछि पहिलोपटक मानवले पृथ्वीसँग सम्पर्कविहीन भएको घटना बनेको छ । पुनः सम्पर्क स्थापित भएपछि अन्तरिक्ष यात्री क्रिस्टिना कोचले पृथ्वीको आवाज फेरि सुन्न पाउँदा निकै सन्तोष मिलेको बताइन् ।

ADVERTISEMENT

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूसँग फोनमार्फत संवाद गर्दै उनीहरूलाई ‘आधुनिक समयका अग्रगामी’ भन्दै प्रशंसा गरे । उनले यस्तो साहसिक अभियानले विश्वलाई प्रेरित गरेको उल्लेख गर्दै अन्तरिक्ष अन्वेषणमा अमेरिका अग्रपङ्क्तिमा रहने धारणा व्यक्त गरे । संवादका क्रममा केही समय संकेत अवरोधसमेत देखिएको थियो, जसलाई उनले दूरीको कारण भएको टिप्पणी गरे ।

ओरियन क्याप्सुलमार्फत फर्किंदै गरेको टोली अब स्वतः पृथ्वी फर्किने बाटो (फ्री–रिटर्न प्रक्षेपवक्र) मार्गमा पृथ्वी आइपुग्न करिब चार दिन लाग्नेछ । रिड वाइसम्यानको नेतृत्वमा रहेको यस मिसनमा विविध ऐतिहासिक उपलब्धि पनि समावेश छन् ।